ब्लग शुक्रबार, असोज १०, २०७६

शृ‌ंखला खतिवडाका ८५ वर्षीय हजुरबुवाकाे खप्तड यात्रा, भन्छन्– टाढा रहेनछ खप्तड

हिमालखबर

–बद्रीप्रसाद खतिवडा

१० हजार फिटको उँचाइसम्मका पाटनको दृश्यावलोकन गर्न खप्तड पुगेका ८५ वर्षीय बद्रीप्रसाद खतिवडाको यात्रा वर्णन–

सङ्गठन कार्यालयमा साथीहरूसँगको त्यो भेटघाट मेरो लागि चालीस वर्षदेखि खप्तड भ्रमणमा जाने ‘धोको’ पूरा गर्ने अवसर बनेर आयो । यात्राका दौरान कैलाली, बझाङ र अछाम जिल्लाका शिक्षक सङ्गठनको साना–ठूला कार्यक्रमहरूमा सहभागी हुने अवसर पनि जुर्‍यो ।

नेपालको शिक्षक आन्दोलनको अगुवा, सङ्गठनको प्रथम अध्यक्षको हैसियतले अहिले म सल्लाहकारको भूमिकामा छु । यसरी ८५ वर्षको उमेरमा म र मेरा सम्धी विष्णुप्रसाद सिग्देल (६८) काठमाडौंबाट असार १८ गते सँगसँगै सुदूरपश्चिमका पहाडी जिल्लाहरूको भ्रमण गरेर २९ गते फर्कियौं ।

पहिलो दिन काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी झ्रियो । त्यहाँ कैलाली जिल्लाका अगुवा शिक्षकहरूले स्वागत र आवासको बन्दोबस्त गरेका रहेछन् । शिक्षक साथीहरूसँगको भलाकुसारी ‘बदलिंदो सन्दर्भमा सार्वजनिक शिक्षा र शिक्षकहरूको व्यवस्थापनमा भइरहेका सुधारहरू’ का बारेमा केन्द्रित थियो ।

कैलाली जिल्लामा निर्माण गर्न लागिएको ‘शिक्षक भवन’ को लागि दुई जना मिलेर रु.१० हजार ‘बीज रकम’ चन्दास्वरुप प्रदान गरियो । भोलिपल्ट १९ गते बस चढेर पहाडी बाटो हुँदै दिनभरको यात्रापश्चात् साँझ ७ बजे बझाङ सदरमुकाम चैनपुर पुगियो ।

२० गते बझाङका पुराना शिक्षक नेताहरूसँग भेटघाट गरेलगत्तै औपचारिक कार्यक्रममा सहभागी भइयो । त्यसको भोलिपल्ट बिहानको बस चढेर सेती राजमार्गको तमेल ओर्लियौं र सेती नदीको झोलुङ्गे पुल तरेर कच्ची बाटो हुँदै जीपमा कालुखेती बजार पुगियो ।

यो बेंसीको बस्तीमा खाना खाएर उँभोतिर रमाइला गाउँहरू छिचोल्दै खप्तड राष्ट्रिय निकुञ्जको प्रवेशद्वार पुग्दा झमक्क साँझ पर्‍यो । थाकेर लखतरान भइयो । त्यो दिन लेकको स्वादिलो खानेकुरा खाएर त्यहीं सुतियो । भोलिपल्ट २२ गते बिहान सबेरै हिंडेर जाँदा ११ बजेतिर रमणीय हरिया पाटनहरू हुँदै खप्तड क्षेत्र प्रवेश गरियो ।

लगभग १० हजार फिट उँचाइमा रहेको खप्तडका पाटनहरू प्राकृतिक अवस्थामा छन् । त्यो हिमाली भेग सुगन्धित देवदारु सल्ला र विभिन्न जातिका घना रूखहरूले घेरिएको रहेछ । असारको अन्तिम भइसकेकोले जमीनमा फुलेका रङ्गीचङ्गी फूलहरू सुकिसकेका हुँदा त्यो सौन्दर्य देख्ने अवसर मिलेन ।

हिमाली हावापानी र मौसम अनुसारका चराहरू भने हामीले देख्यौं । त्यहाँ जति हेर्दै गयो उति विशाल लाग्ने पाटनहरू रहेछन् । खप्तड क्षेत्रमा रहेका २२ वटा पाटनहरूको करीब बीचमा पर्ने त्रिवेणी र मन्दिरको उत्तरपट्टि ढिस्कोमा दक्षिण फर्केको पाखोमा प्रख्यात ‘खप्तड बाबा’ को आश्रम रहेछ । सोही त्रिवेणीमा बझाङ, अछाम, डोटी र बाजुरा जिल्लाहरू जोडिएका रहेछन् ।

खप्तडको पाटनहरूमा जेठदेखि साउन महीनासम्म छिमेकी गाउँहरूको घोडा र गाईवस्तु चराउन अनुमति दिइँदोरहेछ । भदौ १ देखि हिउँद लाग्यो भनेर किसानहरूले आफ्ना वस्तुभाउ पनि फिर्ता लाँदा रहेछन् ।

त्यहाँ क्रमशः हिउँले छोपिंदो रहेछ । त्यसपछि विस्तारै बँदेल, भालु, चितुवा आदि जङ्गली जनावरहरूको डर हुँदो रहेछ । यसैले हुनुपर्छ, पर्यटकहरूको लागि ‘भ्रमण अनुकूल मौसम’ चैतको पहिलो हप्तादेखि साउन महीनासम्मलाई मानिंदोरहेछ ।

थकाइले चूर भएको हाम्रो वृद्ध शरीरमा त्यहाँ पुगिसकेपछि नयाँ उत्साह थपियो । साँझसम्म वरिपरि घुम्यौं; फोटो खिच्यौं । राष्ट्रिय निकुञ्जको अतिथिगृहमा वासको प्रबन्ध मिलायौं । खाना खाएर सुत्यौं ।

भोलिपल्ट २३ गते बिहान सबेरै खप्तड आश्रम नजिकै तपस्यामा बसेका स्वामी अजयसँग खप्तड क्षेत्रको विशिष्टता, व्यापकता र महिमा सुन्यौं ।

उहाँका अनुसार यो भूमि पौराणिक कालदेखि नै ध्यान क्षेत्र, तपस्या स्थल र यज्ञ भूमि रहेछ । यो भूमि आध्यात्मिक बन्न प्रेरित गर्ने ‘विशेष ऊर्जा’ ले भरिएको ठाउँ रहेछ । दिनभरको घुमफिरपछि शान्त चित्त महसूस गर्दै त्यो रात त्यहीं बास बसियो ।

हाम्रो योजना खप्तडबाट फर्कंदा बाजुराको मार्तडी भएर अछामको साँफेबगरबाट मध्यपहाडी राजमार्ग हुँदै सुर्खेत झर्ने थियो । यसपालि असारको शुरूदेखि नै भएको वर्षात् र बाटो देखाउने साथीको अभाव भएर योजना बदल्यौं ।

उपलब्ध स्थानीय बटुवाहरूको साथ लागेर २४ गते बझाङ नै फर्कियौं । दिनभरिको पैदल, जीप र बसको यात्रा गर्दै साँझ परेपछि बझाङको चैनपुर पुग्यौं ।

नयाँ योजना अनुसार २५ गते बझाङबाट डँडेलधुरा पुगियो । त्यही दिन अमरगढी किल्ला र उग्रतारा मन्दिरको दर्शन गरियो । २६ गते बिहान डडेलधुराबाट बसमा डोटी, साँफेबगर हुँदै मङ्गलसैन पुगियो । अछाम जिल्लाको व्यापारिक सदरमुकाम, एअरपोर्ट समेत रहेको ‘साँफेबगर’ भन्दा पनि ‘साँफेबजार’ भएको छ ।

यो क्रमशः ‘साँफेशहर’ हुँदैछ । दिन धेरै बितेकोले पक्की सडक हुँदा पनि मार्तडी जान सकिएन । मध्य पहाडी राजमार्गले जोडेको बयलपाटा हुँदै बेलुका सदरमुकाम मङ्गलसैन पुगियो । त्यहाँ पनि अगुवा शिक्षकहरूसँग भेटघाट गरियो । सोही नयाँ राजमार्ग हुँदै भोलिपल्ट २७ गते राकम कर्णालीमा बनेको नयाँ पुल तरेर सुर्खेत झरियो ।

२८ गते बिहान सुर्खेतमा पुराना शिक्षक नेताहरूसँग भेटघाट गरी जिल्लाको दक्षिणी भागमा पर्ने ऐतिहासिक स्थल ‘काँक्रेविहार’ दर्शन गरियो । अघिल्लो पटक सुर्खेत जाँदा सालघारीमा छरिएको अवस्थामा देखिएको ‘काँक्रेविहार’ पुनःनिर्माण भएर शिखर शैलीमा जुरुक्क उठेको रहेछ ।

सुर्खेतबाट बेलुका नेपालगञ्ज पुगेर प्लेनमा काठमाडौं उत्रिने हाम्रो योजना त्यो दिन सफल हुन सकेन । त्रिभुवन विमानस्थलमा भएको प्राविधिक गडबडी र खराब मौसमका कारणले नेपालगञ्जबाट काठमाडौं जाने उडान स्थगित भएको हुँदा हामीले विकल्प खोजी गर्‍यौं । दिउँसो बस चढेर बुटवल पुग्यौं र साँझको बस चढेर २९ गते बिहान काठमाडौं झरियो ।

यो भ्रमणबाट हामी दुई वृद्धहरूले केही निष्कर्ष निकालेका छौं । पहिलो, सुदूरपश्चिमका सबै पहाडी जिल्लाहरू पक्की सडक र दूरसञ्चारको सुविधाले जोडिएको हुँदा सबै उमेर समूहका मानिसहरूको लागि यात्रा गर्न सम्भव भएको रहेछ ।

खप्तड राष्ट्रिय निकुञ्ज, अछामको ‘रामारोशन’, बाजुराको ‘बडीमालिका’, डोटीको ‘शैलेश्वरी’, डडेलधुराको ‘अमरगढी किल्ला’ र ‘उग्रतारा मन्दिर’ आदि ख्यातिप्राप्त गन्तव्यहरूमा लाग्ने मेला–पर्व र मौसमको सामान्य जानकारी लिएर प्रस्थान गर्न सकिन्छ । हरेक बजार सदरमुकाममा राम्रा होटलहरू बनेका छन् । आकस्मिक सुविधा सहितका अस्पताल र स्वास्थ्य केन्द्रहरू सञ्चालनमा छन् ।

लगभग १० हजार फिट उँचाइमा रहेको खप्तडका पाटनहरू प्राकृतिक अवस्थामा छन् । त्यो हिमाली भेग सुगन्धित देवदारु सल्ला र विभिन्न जातिका घना रूखहरूले घेरिएको रहेछ ।

दोस्रो, मध्यपहाडी राजमार्गले नेपालका बस्ती र सडकहरूलाई अनौठो लाग्ने गरी जोडेको छ । विगतमा सोच्नै नसकिने गरी केही घण्टामै अछामबाट सुर्खेत र रुकुमबाट बाग्लुङ अनि पोखरा पुग्न सम्भव भइसकेको छ ।

तेस्रो, नयाँ–नयाँ पर्यटकीय गन्तव्य व्यावसायिक भइनसकेकाले स्थानीय बासिन्दाहरूको जीवनशैली, कला–संस्कृति, भाषा, खानपान, रहन–सहनमा चासो हुनेहरूको लागि पनि आकर्षक हुन्छ नै । नेपालको सुदूरपश्चिम त्यस्तै एउटा रोचक गन्तव्य त हो नै थपिएका सुविधाहरूले झनै सहज बनाएको पाइयो ।

मेरो लागि चाहिं चार दशकअघि शिक्षक सङ्गठन बनाउने र प्रजातन्त्रका पक्षमा जनता जगाएर आन्दोलन चलाउने मनसुवा बोकेर देशव्यापी दौडाहामा लागेका बेला पनि भ्रमण गर्न बाँकी रहेका केही स्थान पुग्ने अपूर्व अवसर थियो ।

त्यही कालका भए पनि अहिलेसम्म बाँकी रहेका शिक्षक साथीहरूसँग उहीं पुगेर भलाकुसारी गर्न पाउने झनै महत्वको मौका हुनपुग्यो । पछिल्लो समय थपिएका सुविधा र सहजताले गर्दा म जस्तै सेवानिवृत्त, छोराछोरीहरू हुर्केर आआफ्नो सुर गरिसकेका सामान्यतया स्वस्थ वयस्कहरूको लागि पनि त्यो भेगको भ्रमण अविस्मरणीय नै हुनेछ ।

 

प्रतिकृया दिनुहोस