शिक्षक सरुवाको विरोधमा नगरपालिका र प्रहरी कार्यालयमाथि आक्रमण
–सञ्जय मित्र, रौतहट
शिक्षक सरुवाको विरोधमा रौतहटको कटहरिया नगरपालिकामा विद्यार्थीले नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालयमा आक्रमण गरी क्षति पुर्याएका छन् ।
नगरपालिकाले शिक्षकलाई सरुवा गरेको भन्दै विद्यार्थीहरूले नगरपालिकामा आक्रमण गरी करोडौंको क्षति पुर्याएका छन् भने इलाका प्रहरी कार्यालय कटहरियामा आक्रमण गरी चारवटा मोटरसाइकलमा तोडफोड गर्नुका साथै प्रहरी कार्यालय भवनमा पनि आक्रमण गरेका छन् । विद्यार्थीको आक्रमणबाट इलाका प्रहरी कार्यालयका सीसाहरू फुटेका छन् ।
बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको शिक्षा शाखाको सिफारिस अनुसार नगरभित्रका नौजना शिक्षकको सरुवा गरेको र शिक्षक सरुवाको निर्णय कार्यान्वयनका लागि शिक्षा शाखालाई दिन नपाएकै अवस्थामा शुक्रबार विद्यार्थीहरूले कार्यालयमाथि आक्रमण गरी करोडौंको क्षति पुर्याएको पत्रकार सम्मेलन गरी नगर प्रमुख सियाराम कुशवाहाले जानकारी गराएका छन् ।
दुईवटा कार्यालय भवनको सीसा, फर्निचर, कम्प्युटर, सीसी टीभीलगायत सामग्री विद्यार्थीको आक्रमणबाट फुट्नुका साथै कागजपत्र पनि च्यातिएका छन् ।
कार्यालयका महत्वपूर्ण कागजपत्र नष्ट भएको र तोडफोडमा विद्यार्थीमात्र नभई अन्य मानिस पनि सहभागी भएको मेयर कुशवाहाको दाबी छ ।
नगरपालिकामा भएको तोडफोडको विषयलाई जाँचबुझ गर्न नपाले वडाध्यक्ष एवम् नगर प्रवक्ता चन्दन कुशवाहाको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
नगरपालिकामा तोडफोड गरेको खबर सुनेर तत्काल घटनास्थल पुगेका प्रहरीले विद्यार्थीलाई रोक्न खोज्दा आक्रोशित विद्यार्थीले इलाका प्रहरी कार्यालयमाथि नै आक्रमण गरेका थिए ।
नगरपालिका कार्यालय तथा इलाका प्रहरी कार्यालयमाथि सुनियोजित किसिमले आक्रमण गराइएको भन्दै सम्बन्धित निकायसित कडा कारबाहीको माग नगर प्रवक्ता कुशवाहाले गरेका छन् ।