टिप्पणी शुक्रबार, असोज १०, २०७६

नेपाली सेनाकाे सच्याउनुपर्ने इतिहास

हिमालखबर

इतिहासका घटनाक्रमको अध्ययन र विश्लेषण नै नगर्दा ऐतिहासिक अभिलेखका नाममा हचुवा र प्रभावमा लेखिएका गलत तथ्यले स्थान पाएका छन्। 

प्रेमसिंह बस्न्यात

नेपाली सेनाले देशको लागि कदरयोग्य काम धेरै गरेको छ । तर यो विषय ओझेलप्रायः छ । सेनाको बारेमा राज्यले पाठ्यपुस्तकमा नसमेट्नु, जङ्गी अड्डाले सैनिक इतिहास र सामग्रीबारे शोध–अनुसन्धान नगर्नु, गैरसैनिक प्राज्ञहरूले नेपाली सेनाको इतिहासबारे कलम चलाउन रुचि नराख्नु र नेपाली सेनामा आफ्नो इतिहास पढ्ने र बुझ्ने संस्कारको कमी हुनु यसका मुख्य कारण हुन् ।

यस्तै, राणा कालअघि शिक्षाको कमीका कारण इतिहास लेख्ने मानिस ठ्याम्मै भएनन् भने पनि हुन्छ । राणाकालमा भने जङ्गी लाठ अर्थात् सेनाका कमाण्डर इन चिफको अफिस निजी निवासमै हुने भएकाले कतिपय सैनिक महत्वका कागजपत्र जङ्गी अड्डामा नभई घरघरमा सञ्चित हुँदा ती विस्मृतिमा पुगे ।

स्केच : भानु भट्टराई

राणाकालपछिका दिनहरूमा पनि सैनिक सम्बन्धी अभिलेखहरूलाई गोप्य रूपमै राख्नुपर्छ भन्ने बुझाइले जङ्गी अड्डा, परराष्ट्र मन्त्रालयको जैसी कोठा, राजदरबारमा रहेका पुराना अभिलेखमा स्वतन्त्र लेखक\प्राज्ञहरूको पहुँच निषेध गरियो । जसले गर्दा सैनिक इतिहास लेखिएन ।

अर्कातिर, हालसम्म लेखिएका नेपाली सैनिक इतिहासमा कतिपय तथ्य सुनेकै भरमा तानतुन गरेर तथा आफूले काम गरेको अङ्गको बढाइँचढाइ गरेर लेखिने गरेका छन् । तर ती प्रकाशनबारे छानबिन गर्न सक्ने सम्बन्धित निकायको ऐतिहासिक शाखा नहुँदा लेखिएका इतिहास पनि अधकल्चो र अपुष्ट अवस्थामा छन् ।

नेपालको सैनिक इतिहासको उल्लेखनीय कालखण्ड नेपाल एकीकरण, चीन र तिब्बतसँगका युद्ध, ब्रिटिश इष्ट इण्डिया कम्पनीसँगको युद्ध, राणाकालमा भारत शासित बेलायतलाई र बेलायतको शासन अन्त्य भएपछि भारतलाई दिएको सैनिक सहयोग आदि नै हुन् । नेपाल एकीकरण अघि गोर्खा राज्यले उपत्यकाका मल्ल राजाहरूलाई दिएको सैन्य सहयोगलाई पनि बिर्सनुहुँदैन । 

नेपाल एकीकरणको विषयमा सैनिक आँखाले नेपालीमा लेखिएको इतिहास छैन । कतिसम्म विडम्बना छ भने, नेपाल–अंग्रेज युद्धबारे अंग्रेज लेखकले लेखेका युद्ध कहानी हामीले नेपालीमा उल्था गरेर पढ्दै र पढाउँदै आएका छौं । त्यसवेला नेपाली फौजको लडाइँ कस्तो थियो, कसरी युद्ध हारियो भन्नेबारेमा नेपाली आँखाबाट हालसम्म लेखिएको छैन भने पनि हुन्छ ।

यस्तै, नेपाल–तिब्बत युद्ध र नेपाल–चीन–तिब्बत युद्ध, नेपालले अंग्रेजलाई सहयोग गरेको सन् १९५७ को भारतीय सिपाही विद्रोह, वजिरिस्तान युद्ध, पहिलो र दोस्रो विश्वयुद्ध र स्वतन्त्रतापछिको भारतलाई नेपालले हैदरावादमा दिएको सैन्य सहयोग आदिमा नेपाली सेनाले गरेको तयारी, कार्यान्वयन, युद्ध विवरण, घाइते तथा वीरगति पाउनेहरूको विषयमा सैनिक आँखाबाट लेखिएको इतिहास छैन ।

यी विषयहरूमा गैरसैनिक पक्षबाट सानो पाटो मात्र लेखिएको छ । ती विवरण सैनिक इतिहासका लागि पर्याप्त नभएकाले यसतर्फ नेपाल सरकार र नेपाली सेनाले प्रयास गर्नुपर्छ । सेनाको मूल्य–मान्यता सबैले बुझ्ने गरी उपलब्ध हुनसके मात्र नागरिक र सेनाको सम्बन्ध राम्रो बन्छ ।

राजा महेन्द्रको पालामा विभिन्न पक्षको इतिहास लेख्ने काम शुरू भएको हो । तर ती इतिहास पूर्ण रूपमा निष्पक्ष देखिंदैनन् । राजा महेन्द्रले साहित्यकार बालकृष्ण सम, विद्वान् सरदार भीमबहादुर पाँडे लगायत आबद्ध छनोट टोली बनाई राष्ट्रिय विभूति, शहीद, प्रधानमन्त्री, प्रधान सेनापति, अन्य प्रभावशाली व्यक्तिहरूको अभिलेख तयार पारिएको थियो ।

त्यो काम राम्रो हुँदाहुँदै पनि छनोट समितिको सीमा र त्यस बखतको स्रोत–साधनका कारण सबै पक्षमा पर्याप्त अध्ययन–अनुसन्धान नै नभई अभिलेख खडा भएका छन् ।

जस्तो, युद्धको वर्णन कतै नगरेर तथा लडाइँको पुष्ट्याइँ इतिहासबाट नगराई अंग्रेजहरूबाट नेपाल जोगाउने भनेर भीमसेन थापा, बलभद्र कुँवर र बडाकाजी अमरसिंह थापालाई राष्ट्रिय विभूति बनाइयो । यी विभूतिहरूले कसरी नेपाल जोगाए भनेर तत्कालीन मूल्याङ्कन टोलीले कुनै आधार दिएन ।

वस्तुगत रूपमा केलाउँदा भीमसेन थापाकै एकोहोरो ढिपीले प्रतिकूल समयमा नेपाल–अंग्रेज युद्ध हुँदा आधा जति नेपाल गुमेकै हो । युद्धमा अंग्रेजले घुँडा टेकाउँदा टिष्टादेखि सतलजसम्म फैलिएको नेपाललाई भीमसेन थापाले सुगौली सन्धि मार्फत मेची–महाकालीमा खुम्च्याइदिएकै हुन् ।

तर यी पक्ष हेर्दै नहेरी उनलाई ‘दुश्मनको हातबाट नेपाल बचाउने महापुरुष’ भनेर राष्ट्रिय विभूतिले सम्मान गरियो । प्रशासनिक दृष्टिले उनी बलियो प्रशासक भए पनि सैनिक पाटोमा भने कमजोर थिए ।

यस्तै, बलभद्रले नालापानीको युद्ध हारेका थिए । तत्कालीन नेपाल सरकारसँग असन्तुष्ट भई उनी करीब २०० सैनिक सहित नेपालका शत्रु, पंजाबका राजा रणजित सिंहको फौजमा भर्ना भए ।

रणजितको नुन खाएर अफगानिस्तानको युद्धमा मरेका उनी यता राष्ट्रिय विभूति बने । तर ७३ वर्षको उमेरमा काजी सरहको सैनिक नेता भई अंग्रेजसँग लड्दा वीरगति पाएका भक्ति थापा भने त्यो सूचीमा अटाएनन् ।

इतिहासको तोडमरोड

पृथ्वीनारायण शाह राजा भएपछि गोर्खाका पहिलो सेनापति (काजी) विराज थापा मगर (विराज बखती) भए भने दोस्रो महेश्वर पन्त, तेस्रो शिवरामसिंह बस्न्यात र चौथो कालु पाँडे भए । तर सैनिक अभिलेखमा कालु पाँडेलाई पहिलो सेनापति उल्लेख गरिएको छ ।

पृथ्वीनारायणले नुवाकोटमाथि पहिलो असफल आक्रमण गर्दा सेनापति कालु पाँडे भएकै आधारमा उनलाई इतिहासमा गोर्खाको पहिलो सेनापति लेखियो, त्यसअघि को–को सेनापतिहरू थिए भन्ने सोधखोज नै गरिएन । 

त्यति मात्र होइन, छनोट समितिको सुझावबाटै नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापालाई बनाइयो । यो तथ्यलाई इतिहासको कुनै पनि पक्षले प्रमाणित गर्दैन । भीमसेन थापा सुवेदार, सरदार, जनरल, मुख्तियार, कमाण्डर इन चिफ भएका थिए ।

प्रधान सेनापतिकै अर्को पद मुख्तियार राणाकालमा पनि थियो । कमाण्डर इन चिफलाई मुख्तियार पनि भनिन्थ्यो । उनलाई नियुक्तिका हिसाबले प्रधानमन्त्री बनाइएकै थिएन । बरु उनका भतिजा माथवरसिंह थापाले भने प्राइममिनिस्टर नियुक्ति पाएका थिए ।

इतिहास लेख्नेले सैनिक पाटोमा शोध नै नगरी अनावश्यक फूलबुट्टा भरिदिंदा गलत तथ्य र विवरणले ठाउँ पाएका छन् । पछिल्लो समय यस्ता विषयमा सत्य–तथ्य लेखिंदा त्यस्ता पात्रका वंशज तथा कतिपय प्राज्ञ र इतिहासकारहरूले विरोध गर्ने प्रवृत्ति छ । तर प्रमाण र तथ्य नै ठूलो कुरा भएकाले सैनिक इतिहासबारे प्रामाणिक खोज गरेर प्रष्ट्याउने वेला आएको छ ।

इतिहासको लेखोटमा गलत विवरणको जगमा प्रशंसित\सम्मानित गर्ने क्रम मात्र देखिंदैन, योगदान गरेका योग्य पात्रहरूलाई भने छायाँमा पारिएको वा छुटाइएको छ । राजकुमार बहादुर शाहले बालक राजा एवं भतिजा रणबहादुर शाहको नायवी लिंदै पिता पृथ्वीनारायणको बृहत् नेपालको सपना साकार पार्ने क्रममा कास्कीदेखि पश्चिम किल्ला काँगडाको नजिकसम्म गोर्खाली सेना पुर्‍याएका थिए ।

उनी सैनिक रणनीतिमा कुशल थिए । तर बालक राजा रणबहादुरलाई मारेर आफैं राजा हुन खोजेको बात लगाई बहादुर शाहलाई राष्ट्रिय र सैनिक इतिहास दुवैमा देखाइएन । यद्यपि समयक्रममा भद्ररत्न वज्राचार्यले उनको बारेमा विद्यावारिधि गरेपछि उनी चर्चामा आउन थालेका हुन् ।

वि.सं. १६१६ पछि नेपाल (गोर्खा) को इतिहास केलाउँदा अर्थ, सेना, परराष्ट्र, न्याय आदि विभिन्न पक्षको जिम्मा लिने गरी चार जना काजी (मन्त्री जस्तै) लाई एकै पटक नियुक्ति दिई राजाले राज्य संचालन गरेको पाइन्छ । पछि चार भन्दा धेरै काजीहरू पनि बनाइए ।

त्यसपछि नै मूल काजी भन्ने प्रधानमन्त्री सरहको पद सिर्जना भएको थियो । पहिलो मूल काजी कीर्तिमानसिंह बस्न्यात थिए । तर चार काजीमध्ये प्रधानमन्त्री सरह र प्रधान सेनापति सरह को–को थिए भनेर अध्ययन र यकिन नै नगरी जथाभावी ढङ्गले प्रधानमन्त्री र प्रधान सेनापतिका सूचीमा राखिएका छन् ।

कतिपय पाँडे, थापा र बस्न्यातहरूलाई अन्धाधुन्द प्रधानमन्त्री र प्रधान सेनापतिको महलमा राखिएको छ । तर बडाकाजी अमरसिंह थापाले ३५ वर्षभन्दा बढी काजीको पदमा काम गरे पनि उनलाई प्रधान सेनापतिको महलमा नराखिनु ठूलो ऐतिहासिक भूल हो ।

अर्कोतर्फ, वि.सं. १९०३ मा कोतपर्व हुनुपूर्व प्रधानमन्त्री चौतरिया फत्यजङ्ग शाह, पहिलो जनरल (प्रधान सेनापति) अभिमानसिंह रानामगर, दोस्रो जनरल गगनसिंह खवास र तेस्रो जनरल जङ्गबहादुर कुँवर थिए । अभिमानसिंह रानामगर कोतपर्वमा मारिने पहिलो व्यक्ति थिए ।

तर नाम एउटै भएकाले झुक्किएर हुन सक्छ, कतिपय इतिहासकारले अभिमानसिंह बस्न्यात कोतपर्वमा मारिएको भनेर लेखेका छन् । अभिमानसिंह रानामगरलाई प्रधान सेनापतिको महलमा नराखिनु उदेकलाग्दो पाटो हो ।

नेपालको सैनिक इतिहासमा सैनिक महत्वका दृष्टिले पृथ्वीनारायण र बहादुर शाहपछि प्रधानमन्त्री जनरल जङ्गबहादुर कुँवर राणाको ठूलो भूमिका छ । जसले हजारौं फौजको नेतृत्व गरी आफैं युद्धभूमिमा गएर भारतमा भएको सिपाही विद्रोह परास्त गरेका थिए ।

यस्तै, नेपालले तिब्बतसँग गरेको अन्तिम युद्धमा पनि विजय हासिल गरेका थिए । ती दुवै युद्ध अन्तर्राष्ट्रिय तहका थिए । त्यस्ता सैनिक नेतालाई सैन्य इतिहासले सम्मान दिनसकेको छैन ।

पुराना अभिलेख, सम्पदाको सम्मान र तत् सम्बन्धी नयाँ तथ्य र प्रसङ्गलाई विश्लेषण गरी स्वीकार्दा नै इतिहास प्रामाणिक र परिपक्व हुने हो । शङ्का लागेको विषय र सन्दर्भमा सम्बन्धित विद्वान्–प्राज्ञहरू बोलाई छलफलबाट निर्क्याेल गर्न जरूरी हुन्छ ।

राणा र शाहकालीन समयमा कतिपय इतिहास हुकुम र आदेशको भरमा बलमिच्याइँ गरी लेखिएका पनि छन् । यस्तै, कुलीन वर्गले विभिन्न प्रभाव पारेर इतिहास तोडमरोड पनि गरेका छन् ।

ऐतिहासिक विवरणमा वि.सं. १८०० देखि हालसम्म बनाइएका प्रधानमन्त्री तथा प्रधान सेनापतिको सूचीलाई प्राज्ञिक विश्लेषण गरिनुपर्छ, ताकि नयाँ पिंढीले सही इतिहास पढ्न पाऊन् । यो काम नेपाल सरकार, इतिहासकार, प्राज्ञ तथा नागरिक समाजको हो ।

प्रतिकृया दिनुहोस