संविधान जलाउने पक्षमा छैनौंः मुख्यमन्त्री राउत
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले स्वायत्त भएर काम गर्न नपाएको बताएका छन् ।
संविधानमा गरिएका व्यवस्था ठीक भए पनि सङ्घीय सरकारका कारण स्वायत्तता नपाएको उनको भनाइ छ ।
समाजवादी पार्टी नवलपरासीले शुक्रबार परासीमा गरेको कार्यकर्ता भेटघाटमा मुख्यमन्त्री राउतले भने, “संविधानका केही प्रावधान विश्वकै उत्कृष्ट पनि छन्, केही प्रावधानहरु संशोधन गर्नुपर्ने पक्षमा हामीहरु रहेका छौँ ।”
मुख्यमन्त्री राउतले संविधानका प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आवश्यक संशोधन गर्नुपर्ने बताए ।
संविधान नै जलाउने पक्षमा भने आफूहरु नरहेको उनले बताए । प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले आफूहरु संविधान दिवसमा मौन बसेको स्पष्ट पारे ।
मुख्यमन्त्री राउतले संविधानले थुप्रै उपलब्धि दिएको उल्लेख गर्दै संविधानको विरोध गर्दा व्यवस्थालाई नै असर पर्ने देखेर मौन बसेको मुख्यमन्त्री राउतले बताए । संघीयकै कारण मुलुकभर विकासको लहर चलेको बताउँदै उनले बताए ।