प्रदेश नं ५ मा ४८ विधेयक पारित
प्रदेश नं ५ को प्रदेशसभाले २० महीनाको अवधिमा ४८ विधेयक पारित गरेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा विसं २०७४ माघ २१ देखि प्रदेशसभा शुरु भएको थियो ।
पारित भएका विधेयक मध्ये १० विधेयक प्रदेशसभाको चौथो (वर्षे) अधिवेशनले पारित गरेको प्रदेश नं ५ को प्रदेश सचिवलायका सूचना अधिकारी मनोज पाण्डेयले जानकारी दिए । प्रदेशसभाको पारित भएका सबै विधेयक प्रमाणीकरणसमेत भइसकेको छ ।
प्रदेशसभाले प्रदेशको अभिलेख संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६, प्रदेश नं ५ प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७६, आर्थिक वर्ष २०७६/७७ को सेवा र कार्यहरुको लागि प्रदेश नं ५ प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्राइभेट फार्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ ।