चन्द्रागिरीपछि कालिञ्चोक केवलकार उत्कृष्ट गन्तव्य
संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री धनबहादुर बुढाले भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटन भित्र्याउन सरकारले काम गरिरहेको बताएका छन् ।
४०औँ विश्व पर्यटन दिवशका अवसरमा नारायणहिटीस्थित गणतन्त्र पार्कमा आयोजित कार्यक्रममा मन्त्री बुढाले पर्यटन क्षेत्र सरकारको प्राथमिकता रहेको बताए ।
संयुक्त राष्ट्र विश्व पर्यटन संगठनले सन् १९७० बाट मनाउन सुरु गरेको पर्यटन दिवश नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्याक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुधारको काम भइरहेको बताए ।
यस वर्षको विश्व पर्यटन दिवशको नारा ‘पर्यटन र रोजगार ः सबैका लागि उत्तम भविष्य’ तय गरिएको छ । पर्यटन दिवशका अवसरमा नेपाल प्रवेश गर्ने विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथैँ अन्य सिमा नाकाहरुमा स्वागत गरिएको छ ।
पर्यटन आवद्ध संघ संस्थाले पर्यटन दिवशलाई लक्षित गर्दै उनिहरुले प्रदान गर्ने सेवामा विशेष छुट दिएका छन् ।
यस वर्ष मन्त्रालयले दोलखाको कालिन्चोक केवलकारलाई सन् २०१९ को उत्कृष्ट गन्तव्य घोषणा गरेको छ । गत वर्ष चन्द्रागिरीलाई उत्कृष्ट गन्तव्यको पुरस्कार प्रदान गरिएको थियो ।
धादिङको रुबीभ्याली गाउँपालिकास्थित ‘चालीस गाउँ’, बाग्लुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ पर्यटकीय गाउँको रुपमा घोषणा गरिएको छ ।