द्वन्द्व पीडितसँग सार्वजनिक रुपमै माफी मागे दाहालले
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पहिलो पटक सार्वजनिक मञ्चबाटै द्वन्द्व पीडितसँग माफी मागेका छन् ।
बिहीबार मानवअधिकार आयोगले द्वन्द्व पीडितसँग शीर्ष नेताहरुको अन्तर सम्वाद कार्यक्रम राखेका थिए । कार्यक्रममा द्वन्द्व पीडितहरुले आक्रोश व्यक्त गरेपछि अध्यक्ष दाहालले क्षमायाचना गरेका हुन् ।
दाहालले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुंगोमा पुर्याउने प्रतिबद्धता जनाए । अध्यक्ष दाहालले भने, “म मैदान छाडेर भाग्दिन । न्यायको कसीमा जस्तो सुकै परिणाम भोग्न तयार छु ।” द्वन्द्वकालका कतिपय नेताहरुले मैदान छोडेपनि आफू सजाय भोग्न तयार रहेकाले दाहालले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन गर्न बनेको आयोगलाई पूर्णता दिनेबारे छलफल तीब्र पारेको दाहालले बताए । “पीडितले न्याय पाउने परिस्थिति बन्दै गएको छ । सत्तारुढ र प्रतिपक्ष समेत यसमा सहमत छन्”, अध्यक्ष दाहालले भने ।
सङ्क्रमणकालीन न्यायका विषय टुंग्याउन ढिलाइ भएको र राजनीतिक नेतृत्वमा रहने आफूहरु मुख्य दोषी रहेको पनि दाहालले स्वीकार गरे । “यो प्रक्रियालाई टुंग्याउनु नै राष्ट्रको हितमा छ, राजनीतिक दलको पनि हितमा छ । जनता र पीडितको हितमा छ भन्ने बुझाइ गुणात्मक रुपमा गहिरो भएको छ । यो एउटा हामी सबैका लागि यो अवसरलाई हामीले गुम्न दिनु हुँदैन”, अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले राजनीतिक दलका नेताहरुले एकअर्कालाई दोषी देखाउनुको सट्टा एकापसमा समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायको विषयलाई सरकारले गम्भीरतापूर्वक समाधान गर्नुपर्ने बताए । सभापति देउवा सम्बोधन गरेर बीचमै निस्कन खोजेपछि सहभागीहरुले नाराबाजी नै गरेका थिए । तर, सभापति देउवा रोकिएनन ।
त्यसपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आक्रोशित सहभागीहरुलाई संयम रहन आग्रह गरेका थिए ।