संसदीय रिपोर्टिङ गर्न महिला पत्रकारलाई उपसभामुखको आग्रह
प्रतिनिधिसभाका उपसभामुख डा शिवमाया तुम्बाहाङफेले संसदमा रिपोर्टिङ गर्ने पत्रकार महिलाको संख्या बढ्नुपर्ने बताएकी छिन् । सूचनाको स्रोत सभामुख वा उपसभामुख मात्र नभई सबै सांसद, संसद सचिवालयका कर्मचारी आदिबाट सूचना लिन सक्नुपर्ने बताइन् ।
संसदमा रिपोर्टिङ गर्ने महिला पत्रकार बढ्ने हो भने महिलाको दृष्टिकोणबाट र महिला सांसदहरुले बोलेका कुराहरु बढी आउन सक्ने उनको भनाइ छ ।
क्रियाशील महिला पत्रकार (डब्लुडब्लुजे) ले काठमाडौंमा आयोजना गरेको ‘संसदीय मामिला रिपोर्टिङ’ तालिमको समापन गर्दै उनले अब संसद काठमाडौंमा मात्र नभई प्रदेशहरुमा समेत भएकाले पनि यो तालिमको उपयोग गर्न सुझाव दिइन् ।
दुई दिने तालिममा सातवटै प्रदेश र काठमाडौंका गरी २५ जना पत्रकारहरु सहभागी थिए । तालिमको बुधबार उद्घाटन गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले महिला पत्रकारलाई अझ दक्ष बनाउन अथवा सहज वातावरण बनाउन सरकारले पनि पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले हरेक संचारमाध्यममा महिला पत्रकारको संख्या बढ्दै गए जस्तै संसदमा रिपोर्टिङ गर्ने संख्या पनि बढ्नुपर्ने भन्दै दुई दिनसम्म तालिम लिएपछि संसदीय मामिला सम्बन्धी समाचार लेख्न आग्रह गरे ।
कार्यक्रममा डब्लुडब्लुजेकी अध्यक्ष अमिका राजथलाले संसदीय रिपोर्टिङको निश्चित नियमहरु पनि जान्नै पर्ने भएकाले पनि यस खालको तालिम आयोजना गरिएको बताइन् । सहभागीहरुलाई उपसभामुख तुम्बाहाङफेले प्रमाणपत्र प्रदान गरेकी थिइन् ।