‘छोरीको ब्याङ्क खातामा प्रदेश सरकारको मासिक ५०० रुपैयाँ’
कर्णालीका नागरिकका लागि विपत् बीमा कार्यक्रम शुरू गरेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही भन्छन्, “छोरीका लागि जीवन खाता कार्यक्रम शुरू गर्दैछौं।”
प्रदेश सरकारले ल्याएको सामूहिक बीमा कार्यक्रम के हो ?
यो कार्यक्रम प्राकृतिक विपतसँग सम्बन्धित छ । कर्णाली प्रदेश विपतजन्य घटनाको उच्च जोखिममा छ । बाढी, पहिरो, आगलागी जस्ता विपतका कारण हरेक वर्ष जनधनको क्षति हुने गरेको छ । विपतका कारण घर भत्किएमा रु.५ लाख, प्रकोप वा प्राकृतिक विपतबाट निम्तिने दुर्घटनाले मृत्यु भएमा रु.१ लाख सम्बन्धितका परिवारलाई दिइनेछ ।
यसमा नागरिकले बीमा कम्पनीलाई बीमाङ्क बापतको रकम बुझाउनुपर्छ कि पर्दैन ?
पर्दैन । बीमा बापतको रकम प्रदेश सरकारले तिर्ने व्यवस्था मिलाएका छौं । कर्णालीका हरेक नागरिकले रु.१ लाखको निःशुल्क बीमा सुविधा प्राप्त गर्नेछन् । बीमा कार्यक्रममा समेट्न हरेक गाउँ–टोलमा पुगी सबै नागरिकको विवरण संकलन गर्छौं ।
यो कार्यक्रमले क–कसलाई समेट्छ ?
बीमा कार्यक्रमले कर्णालीका स्थानीय बासिन्दासँगै पेशा–व्यवसाय गर्ने क्रममा यो प्रदेशमा बसेकाहरू, कर्मचारी लगायत सबैलाई समेट्छ ।
कर्णालीका विकट भेकका जनताले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने स्थिति छ, स्वास्थ्य बीमामा किन ध्यान नदिनुभएको ?
स्वास्थ्य बीमा कार्यक्रम संघीय सरकारले सञ्चालन गरेको छ । हामीले दिंदा दोहोरिने भएकाले नगरेका हौं । हामीले विपत् बीमापछि अर्को नयाँ कार्यक्रम शुरू गर्दैछौं ।
नयाँ कार्यक्रम के हो ?
समाजमा छोरी र छोरामा विभेद छ । गर्भावस्थामा लिङ्ग पहिचान गरेर छोरी भएमा भ्रूणहत्या गर्ने प्रवृत्ति छ । यो विभेद निराकरण गर्न केही दिनमै ‘छोरीका लागि जीवन खाता’ कार्यक्रम सञ्चालन गर्दैछौं । त्यस अन्तर्गत जन्मिने हरेक छोरीका लागि सरकारले ब्याङ्क खाता खोलेर मासिक रु.५०० जम्मा गरिदिन्छ ।