गाई काटेको आरोपमा तीन जना पक्राउ
गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बाँकेको खजुरा–७ बढुवाको खेतमा बुधबार राति गाई काटेका तीन जनालाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ छन् भने एक जना फरार छन् ।
राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । “प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो”, इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने ।
तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले बताए ।
निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताए ।