उपत्यकामा साझाका ४० बस नियमित सेवामा
सार्वजनिक यातायात कम सञ्चालन भएर यात्रुलाई आवतजावतमा समस्या भएका बेला पनि साझा यातायातका ४० वटा बसले भने उपत्यकामा नियमित सेवा दिइरहेका छन् ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको उपत्यका बन्दले अन्य सवारीसाधनमा आंशिक प्रभाव पारेपनि साझा यातायातमा भने कुनै प्रभाव परेको छैन ।
यातायातले ३६५ दिन नै सेवा दिने गरेको निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।
“लगनखेल–रत्नपार्क–नारायणगोपाल चोक–नयाँ बसपार्क मार्गमा १०,लगनखेल–सिंहदरबार–रत्नपार्क–नारायणगोपाल चोक–बूढानीलकण्ठ मार्गमा १०, एयरपोर्ट–कमलपोखरी–रत्नपार्क–लैनचौर–ठमेल–बालाजु बाइपास हुँदै नयाँ बसपार्क मार्गमा १० र स्वयम्भू–कलङ्की–रत्नपार्क–नयाँ बानेश्वर हुँदै कोटेश्वर मार्गमा १० गरी उपत्यकामा ४० वटा बस पूर्ववत् सञ्चालनमा छन्”– उनले भने ।
साझाका ६ बसले उपत्यका बाहिर पनि निरन्तर सेवा दिइरहेका छन् । उपत्यका बाहिर काठमाडौँ–बागलुङ दुई, काठमाडौँ–वीरगन्ज दुई र काठमाडौँ–भैरहवा लुम्बिनी दुई गरी ६ वटा बस सञ्चालनमा छन् ।
लामो दूरीका लागि थप १० डिलक्स बस खरिद गर्ने निर्णय भइसकेको साझाले जनाएको छ ।
उपत्यकामा थप बस सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड लगानी गर्ने भएको छ ।
अन्य नगरपालिका र जिल्ला विकास समितिसँग पनि सहकार्य एवम् लगानीका लागि अनुरोध गरिएको निमित्त महाप्रबन्धक पाण्डेले जानकारी दिए ।
रासस