जंगली जनावर धपाउन खेतमै डेरा
शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका किसान जङ्गली जनावर धपाउनका लागि खेतमै डेरा जमाएर बस्ने गरेका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतमा छिर्ने बदेल, चित्तललगायतका जनावरले धानबाली खाइदिने भएपछि स्थानीय किसानले खेतमै डेरा हालेर बसेका हुन् ।
“जङ्गली जनावरका बथानका बथान खेतमा छिर्ने भएकाले रातभर सुत्न पाउँदैनौँ” स्थानीय आशाराम चौधरीले भने, “जनावर भगाउनमै अनिदोमै रात बित्ने गरेको छ ।”
आँखा लाग्नेबित्तिकै जनावर खेतमा छिरेर एकछिनमै पूरा खेत सखाप पार्ने भएकाले सुत्न नपाएको चौधरीले बताए ।
“पाक्नै लागेको धान आधा बढी जनावरले खाइसकेको छ” अर्का किसान नारायणसिंह महराले भने, “थोरै धान जोगाउन पाए पनि केही महीना खान पुग्ने भएकाले खेतमै रातभर बस्नुपरेको छ ।”
जंगली जनावरकै कारण यस क्षेत्रका किसानले वर्षेनी खेतमा लगाएको पूरै बाली भित्र्याउन पाएका छैनन् ।