मेसीले रोनाल्डोलाई भोट दिए, रोनाल्डोले दिएनन्
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले यस पटकको वर्ष खेलाडी अवार्ड अर्जेन्टिनाका लियोनल मेसीलाई दिएको छ । अवार्डका लागि अन्तिम तीनमा परेका मेसीले बढी मतका आधारमा छैटौं पटक उपाधि जितेका हुन् ।
फिफा वर्ष खेलाडीको अवार्ड कप्तान, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा वितरण गरिदै आएको छ । मेसीले पोर्चुगलका क्रिश्चियानो रोनाल्डो र नेदरल्याण्डका भान डाइकलाई पछि पार्दै अवार्ड हात पारे ।
तर, अर्जेन्टिनाका कप्तान मेसीले भने पहिलो रोजाइमा लिभरपुलका स्ट्राइकर साडियो मानेलाई मत दिएका थिए । मेसीले दोस्रो रोजाइमा रोनाल्डोलाई मत दिए ।
पोर्चुगलका कप्तान रोनाल्डोले भने मेसीलाई मत दिएनन् । रोनाल्डोले पहिलो रोजाइमा युभेन्टसका माटिज डी लिट र फ्रेन्की डी जोङलाई मत दिएका थिए ।
नेदरल्याण्ड भान डायकको पहिलो रोजाइमा मेसी परे । यस्तै, इंग्ल्याण्डका कप्तान हेरी केनले मेसीलाई पहिलो मत दिए भने क्रोयसियाका कप्तान लुका मोड्रिचले भने आफ्नै क्लबका पूर्व सहकर्मी रोनाल्डोलाई मत दिए । -एजेन्सी