भुटानलाई ऐतिहासिक सफलता, डिफेन्डिङ च्याम्पियन नेपाल समूह चरणबाटै बाहिरियो
यू–१८ साफ च्याम्पियनसीप फुटबलमा भुटानले ऐतिहासिक सफलता पाएको छ ।
माल्दिभ्ससँग मंगलबार गोल रहित बराबरी खेल्दै भुटान समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ । भुटान सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।
डिफेन्डिङ च्याम्पियन नेपाल भने घरेलु मैदानमै समूहबाट बाहिरिएको छ । माल्दिभ्ससँग एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेको नेपाल भुटानसँग तीन–शून्य गोल अन्तरले पराजित भएको थियो ।
समूह चरणमा चार अंकसहित भुटान समूह विजेता र दुई अंक सहित माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
समूह ‘बी’को सेमिफाइनल समीकरण भने बुधबार तय हुनेछ ।
समूह चरणको अन्तिम खेल बुधबार दिउँसो तीन बजे भारत र श्रीलंका बीच हुनेछ ।