पूर्व सांसद यादव थुनामा
कीर्ते गरी उपभोक्ता समिति गठन गरेको र सरकारी कागजात कीर्ते गरेको आरोपमा पूर्वाधार तथा यातायात निर्देशनालय जनकपुरका सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइत जेल चलान भएका छन् ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले ३० भदौमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न दिएको आदेशअनुसार सोमबार अदालतमा हाजिर भएका गोइतलाई राजविराज कारागारमा थुनामा पठाएको अदालतले जनाएको छ ।
जिल्ला अदालतले गत ६ जेठमा उनलाई चार लाख धरौटीमा पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो । जिल्ला अदालतको बेरितको आदेश बदर गर्दै गोइतले साधारण तारेखमा रिहा गर्न माग गरे ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश ग¥यो । सोही मुद्दामा पूर्वसांसद तथा राजपा नेपालका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य हरिनारायण मण्डल कारागारमा थुनामा छन् ।
सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका तथा छिन्नमस्ता गाउँपालिकामा प्रदेश नं २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सञ्चालित सडक निर्माण योजनाका लागि कीर्ते गरी उपभोक्ता समिति बनाएको तथा सरकारी कार्यालयको कागजात कीर्ते गरेको अभियोगमा यादव र मण्डल गत ५ वैशाखमा पक्राउ परेका थिए ।
पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजनल इञ्जिनीयर रहेका बेला गोइतले राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्वसांसद यादव र राजपा नेपालका अर्का केन्द्रीय सदस्य मण्डलसँग मिलेर सरकारी कार्यालयको कागजात कीर्ते गरी भ्रष्टाचार गरेको अभियोग छ ।