थप समाचारसोमबार, ६ आश्विन , २०७६

बालविवाह आरोपितलाई चार वर्षपछि कैद सजाय

रासस

बालविवाह र बहुविवाहको आरोप लागेका सप्तरीको डाक्नेश्वरी नगरपालिका– ३ तरहीका ४१ वर्षीय हुलासप्रसाद साहलाई चार वर्षपछि कैद सजाय र जरिवाना गरिएको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–६, की १४ वर्षीया बालिकासँग विवाह गरेका साहलाई जनकपुर उच्च अदालतको राजविराज इजलाशले एक वर्ष कैद र पाँच हजार जरिवाना गर्नाका साथै बालविवाह गरेकामा रू. १० हजार जरिवाना गरेको थियो ।

मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठसमेतको इजलासले बालविवाह गराइदिएकामा सोही स्थानका बालिकाका बुबा सागर साहलाई एक हजार जरिवाना तोकेको थियो ।

इन्सेकका जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेल नेतृत्वको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी मन्दिरमा ०७२ जेठ १५ गते आरोपीले बालविवाह र बहुविवाह गरिरहेको भन्दै सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकामा प्रहरीले आरोपीलाई तत्कालै पक्राउ गरेको थियो ।

जनकपुरको भानु चोककी बीनादेवी साहसँग २०५० सालमा पहिलो विवाह गरेका आरोपीका जेठी श्रीमतीतर्फ २३ वर्षीया एक छोरी छ । जेठीबाट छोरा नभएको भन्दै आरोपीले बालिकासँग दोस्रो विवाह गरेका थिए ।

प्रतिकृया दिनुहोस