कास्की–२ बाट उम्मेद्वार बन्न विद्यालाई बाटो खुला
कास्की–२, बाट प्रतिनिधिसभा सदस्यका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
त्यहाँबाट निर्वाचित सांसद एवम् तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीको ताप्लेजुङ दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले उपनिर्वाचनका लागि तयारीलाई अगाडि बढाइसकेको छ ।
दलहरुले पनि उपनिर्वाचनका लागि उम्मेद्वारबारे चर्चा शुरु गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उठ्ने उम्मेद्वारबारे निकै चर्चा भइरहेको थियो ।
बर्दिया–१, २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित एवम् पार्टीकै उपाध्यक्ष प्रस्तावित वामदेव गौतमलाई उम्मेद्वार बनाउनेबारे पनि छलफल शुरु भएको थियो । तर, शनिबार साँझ बसेको नेकपा सचिवालय बैठकमा स्वयम् गौतमले उपनिर्वाचन नलड्ने घोषणा गरे ।
गौतमको घोषणासँगै अब अधिकारीकी पत्नी विद्या भट्टराईले उपनिर्वाचनमा उम्मेद्वारी दिने लगभग पक्का भएको नेकपा वृत्तमा चर्चा शुरु भएको छ । भट्टराईले नै उपनिर्वाचनका लागि आफू तयार भएको प्रतिक्रिया दिएकीले पनि उनी उम्मेद्वार बन्ने संभावना बढेको छ ।
अनेरास्ववियुका केन्द्रीय सचिवको जिम्मेवारी समेत निर्वाह गरेकी भट्टराई प्राध्यापन पेशामा आवद्ध छिन् ।