कला/साहित्य आइतबार, असोज ५, २०७६

उपासनालाई अनमोलभन्दा दयाहाङ फाप्यो !

हिमालखबर

‘कबड्डी कबड्डी कबड्डी’ फिल्मको सफलतासँगै कलाकारहरुको चर्चा पनि बढेको छ । यतिबेला फिल्मले देश तथा विदेशमा दर्शकको अपार माया पाइरहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले पाइरहेको यो सफलताले नेपाली फिल्म उद्योगमा नयाँ इतिहास बनाएको छ ।

पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म रिलिज भएको तेस्रो दिन पुग्दा यसको सफलता झनै उकालो लाग्ने क्रममा छ।

फिल्मको सफलतासँगै फिल्ममा अभिनय गर्ने कलाकारहरुको चर्चा पनि बढ्दो छ । फिल्मकी मुख्य पात्रमध्येकी काशीको भूमिकामा देखिएकी उपासना सिंह ठकुरीको कामको चर्चा पनि यतिबेला तातो विषय बनेको छ ।

क्याप्टेन फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी ठकुरीको यो दोस्रो फिल्म हो । क्याप्टेन जहाँ स्टार अनमोल केसी नायक थिए । याे फिल्म व्यावसायिक रुपमा सामान्य रह्यो ।

फिल्मको मुख्य भूमिकामा देखिएकी नायिका उपासनाको ‘सम्भावना बोकेकी नायिका’ भनेर चर्चा भयो । उनीप्रति गरिएको टिप्पणी दोस्रो फिल्म ‘कबड्डी कबड्डी कबड्डी’सम्म आइपुग्दा सही हुँदै गएको देखिन्छ ।

दर्शकको टिप्पणीप्रति प्रतिक्रिया दिँदै पहिलोको तुलनामा बढी मिहिनेत गरेको बताइन् । उपासनाले भनिन्, "पहिलोमा आफूले सकेजति मिहिनेत गरेँ भन्ने लागेको थियो तर कबड्डी खेल्दा लाग्यो ओहो मिहिनेत त अझ बढी गर्नुपर्नेरहेछ र सक्दो गरेँ ।"

‘कबड्डी कबड्डी कबड्डी’ फिल्मको सफलताले उत्साहित उपासना अहिले तत्काल नयाँ फिल्ममा अनुबन्ध भइहाल्ने भन्दा पनि राम्रो स्क्रिप्ट छानेर मात्रै काम गर्ने सोँच बनाएको बताउँछिन् । उनी भन्छिन्, "यो सफलताले एकदमै उत्साहित भएकी छु तर अहिले तत्काल नयाँ प्रोजेक्टमा काम गर्ने भन्दा पनि चित्तबुझ्दो स्क्रिप्ट हेरिरहेकी छु ।"

कबड्डी कबड्डी कबड्डीलाई दर्शकले देखाएको मायाप्रति उत्साहित हुँदै उनले भनिन्, "देश विदेशका दर्शकहरुले हामीलाई गर्नुभएको मायाले एकदम खुशी छु । दर्शकप्रति म धेरै आभारी छु ।"

प्रतिकृया दिनुहोस