ब्लग शुक्रबार, असोज ३, २०७६

रक्तदानका लागि न्यूयोर्कबाट नैरोबी

हिमालखबर

- अर्जुन मैनाली

मैले ६ वटै महादेशका १६ वटा देशमा रक्तदान गरिसकेको थिएँ र केन्या मेरो १७२ औं देश थियो । र, यसका लागि १५ घण्टामा १२ हजार किलोमिटरको यात्रा गर्नुपर्ने थियो ।

म रक्तदान गर्न अनेक बहाना बनाउन थालेको छु । मैले अफ्रिकाका मलावी, युगान्डा, इथियोपिया, रुवान्डा पुगेर रक्तदान गरिसकेको छु । अब कङ्गो गएर रक्तदान गर्न मन लाग्यो । यसका केही कारण थिए ।

अफ्रिका महादेशको करीब मध्य भागमा रहेको गरीब मुलुक कङ्गोमा संसारकै उच्चतम मातृ मृत्युदर र दोस्रो उच्चतम् शिशु मृत्युदर छ । बलिया पुरुषले आफ्नो स्वार्थका लागि हरेक तरिका महिलाको शोषण गर्दा रहेछन् । गरीब घरमा खानेकुरा छैन, केही गरी अलिकति जुटिहाले महिलाको भागमा साह्रै थोरै पर्दो रहेछ । 

यस्तो अवस्था थाहा पाएपछि कङ्गो गएर रक्तदान गर्ने रहर लाग्यो । मैले ११ सेप्टेम्बर, २०१९ मा कङ्गो जाने योजना बनाएँ । तीन महीना अगाडि मात्रै रुवान्डामा रक्तदान गरेको थिएँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने मेरो चाहना हो।

अमेरिकी सरकारले द्वन्द्व र इबोला महामारीका कारण आफ्ना नागरिकलाई तत्काल कङ्गो नजान र गइहाले पनि सावधानी अपनाउन सूचना जारी गरेको रहेछ ।

द्वन्द्वका कारण २० वर्षमा ५४ लाखले अकालमै जीवन गुमाइसकेका रहेछन् । इबोला नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्यमन्त्रीले २३ जुलाई, २०१९ मा राजीनामा नै दिएका रहेछन् । एचआईभी\एड्स, झडा–पखाला र औलोको पनि उत्तिकै जोखिम रहेछ ।

कङ्गो जान नपाउँदाको पीडा

मेरा कार्यालयका सहकर्मीहरूले ‘कङ्गो जानु आत्महत्या गर्न जानु जस्तै हो’, समेत भने । मानिस जन्मेपछि एकदिन मरी नै हालिन्छ । अरुका लागि पनि बाँच्नु महत्वपूर्ण हो । मैले गत जुलाईमा न्यूयोर्कस्थित कङ्गोको कन्सुलेटमा भिसाका लागि निवेदन दिएँ । विगत ६ वर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिसा र छापहरूले भरिएर पासपोर्टमा दुई पेज मात्र बाँकी थिए । 

कन्सुलेटका अधिकृतलाई ‘तपाईंले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो नि ?’ भनेर सोधें । मसँग अमेरिकन पासपोर्ट भएको फुर्ति गर्न यो प्रश्न गरेको थिइनँ । तर, मेरो पासपोर्ट भिसा नै नलगाई फिर्ता भयो । 

मलाई कङ्गो जानु नै थियो । मेरा साथीहरूको आशीर्वाद र केही आर्थिक सहायता पाउन ‘गो–फन्डमी’ योजनाबारे मेरो कुरा राखेको थिएँ । साथीहरूले सहयोग पनि गर्न थाल्नुभयो । गो–फण्ड मार्फत ९९७ डलर जुटेको थियो । 

कङ्गोको भिसा नपाए पनि म हतोत्साहित भइनँ । अफ्रिकाका धेरै देशमा रक्तदानका लागि उत्प्रेरणा गर्नु नै छ । ३० अगष्टमा केन्यामा रक्तदान उत्प्रेरणा गर्न जान रिपब्लिक अफ केन्याको कन्सुलेट कार्यालय, न्यूयोर्कमा भिसाका लागि निवेदन दिएँ । 

केन्याको राष्ट्रिय रक्तसंचार विभाग तथा मानव अङ्ग प्रत्यारोपणका प्रमुख डा. फ्रिदा ए. गोवेडीले ‘केन्यामा रक्तदान संस्कृति बढाउन तपाईंको उपस्थितिले ठूलो विशालता महसूस गर्न सक्दछौं’ भन्दै मलाई स्वागत गर्न उत्साहित भएको बताएका थिए ।

रगत दिने मेचमा मलाई सुताएपछि मेरो पाखुरा हेर्न मन्त्री आफैं आइन् । विगतमा रक्तदान गर्दा सुई घुसारेको ठाउँ हेर्दै स्पर्श गरिन् । शायद उनलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला भन्ने उत्सुकता थियो कि !

केन्याका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवाका लागि महानिर्देशक डा. जे.वेकेसा मासाबीले रक्तदान अभियानमा भाग लिन मलाई आमन्त्रित पत्र पठाए । त्यति भएपछि ३ सेप्टेम्बरमा केन्याको भिसा पाएँ ।

मैले कङ्गो जाने हवाईजहाजमा केन्याको टिकट लिएँ । हवाईजहाज करीब दुई घण्टा केन्यामा रोकिएर कङ्गो जाने तालिका थियो । मैले त्यो टिकटबाट यात्रा गर्न पाइनँ । केन्याका रक्तदाताको संस्थालाई सहयोग गर्न र आफ्नो दैनिकी खर्चका लागि छुट्याएको रकमबाट १,०१६ डलरमा अर्को टिकट किनें । तर, नयाँ टिकटमा पनि पहिलो टिकटमा भएको मिति र यात्रा तालिका नै उल्लेख थियो । म ठगिएँ । करिब १५ घण्टाको हवाई यात्राभरि मेरो मन रोयो तर, म हतोत्साहित भइनँ ।

उल्टै सम्मान र हौसला

नैरोबी एअरपोर्टमा मलाई स्वागत गर्न सर्वाधिक महिला रक्तदाता एैसा र पुरुष रक्तदाता अल्फा आएका रहेछन् । उनीहरूसँग पहिला त्यहाँको रक्तसञ्चार सेवा र त्यसपछि नजिकैको होटल हिलपार्कमा गएँ । मैले न्यूयोर्कमा वेबसाइट हेर्दा उक्त होटलको प्रतिरात ७० डलर लेखिएको थियो । तर, त्यहाँ ११४ डलर लाग्ने बताए । अब कता गएर बस्नु ! यसैमा बस्न फर्म भरें । 

म रक्तदान गर्नकै लागि अमेरिकाबाट केन्या आएको थाहा पाएपछि त्यहाँका स्वास्थ्य मन्त्रालयका सरकारी अधिकारीले विशेष चासो राखेका रहेछन । त्यहाँको राष्ट्रिय पत्रिका ‘डेली नेशन’ मा समाचार पनि छपाएछन् । म त्यहाँ बसुन्जेल उनीहरुले एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । 

म नैरोबी पुगेकै साँझ् एनआरएन केन्याका पदाधिकारीले मेरो लागि आयोजना गरेको रात्रिभोजमा सहभागी भएँ । आफ्नो अनुकूलमा सानै भए पनि रक्तदान कार्यक्रम गर्न अपिल गरें । 

केन्याको स्वास्थ्य मन्त्रालयले रक्तदान गर्न मेरो लागि विशेष कार्यक्रम नै बनाएछ । भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको कार्यक्रमस्थल पुगें । त्यहाँ दुई ठूला पाल टाँगिएका थिए । औपचारिक कार्यक्रमका लागि एउटा पालमा मेच र मञ्च थिए । 

अर्को पालमा रक्तदान गर्न आवश्यक व्यवस्था मिलाइएको थियो । कार्यक्रममा स्वास्थ्यमन्त्री (क्याबिनेट सेक्रेटरी) सिसिली कारीउकीले पनि मन्तव्य दिइन् । उनले भनिन्, ‘हाम्रो देशमा वार्षिक १० लाख युनिट रगत चाहिन्छ ।

तर, करीब एक लाख ७० हजार युनिट मात्रै उपलब्ध हुन्छ । यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनीय काम गरेका विश्व प्रख्यात रक्तदाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याली जनतालाई रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त छु ।’ 

मन्त्रीले सम्बोधनकै क्रममा मलाई परम्परागत केन्याको क्राउन (राजदण्ड, ह्याट र गम्छा) ले सम्मान गरिन् । त्यसपछि मैले बोल्ने क्रममा विश्वभरि रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस् भन्दै मैले ३२ वर्षमा १७१ पटक रक्तदान गरिसकेको जनाएँ । रक्तदान गरेर शरीरमा कुनै कमजोरी नहुने जानकारी पनि दिएँ । 

मसँग भन्नका लागि आफ्नै तथ्यांक छन् । त्यतिवेलासम्ममा मैले करिब ८५.५ लिटर रक्तदान गरिसकेको थिएँ । मेरो आफ्नै रगतले मात्रै ५१३ जनासम्मलाई बचाउन सहयोग हुने थियो । लगत्तै म १७२औँ पटक रक्तदान गर्दै थिएँ । मैले ६ वटै महादेशका १६ वटा देशमा रक्तदान गरिसकेको थिएँ र केन्या मेरो १७औं देश थियो । मैले यसो भनिरहँदा उपस्थित सबैले ताली बजाएका थिए ।

मन्तव्य कार्यक्रम सकिएपछि एक पत्रकारले मलाई छेउमा बोलाए । तर, त्यहाँ भएभरका टिभी, रेडियो, अखबारका पत्रकारले मलाई घेरिहाले । 
त्यसपछि म रक्तदान गर्ने पालमा गएँ । सुरुमा त मेरो रक्तचाप एक अंकले बढी देखियो । मैले रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्ता लाग्यो । तर, दोस्रो पटक जाँच गर्दा रक्तचाप ठीक देखियो ।

१२ हजार किलोमिटरको यात्रा

रगत दिने मेचमा मलाई सुताएपछि मेरो पाखुरा हेर्न मन्त्री आफैं आइन् । विगतमा रक्तदान गर्दा सुई घुसारेको ठाउँ हेर्दै स्पर्श गरिन् । सायद उनलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला भन्ने उत्सुकता थियो कि ! 

मैले रक्तदान गरिसकेपछि उनी आफ्नो मन्त्रालयतिर लागिन् । करीब १ बजेतिर रक्त संचार सेवाका पदाधिकारी साथ म पनि दिवाभोज गर्न गएँ । एउटा करीब दुई पाउ जतिको सिङ्गै माछा र ढिंडो खाएँ । फेरि एक घण्टा जति रक्तदान भइरहेको ठाउँमा बसें । हरेक रक्तदातालाई भेट्दै धन्यवाद दिएँ ।

करीब ४ः३० बजेतिर मन्त्रीले उनकै कार्यालयमा बोलाएको खबर पाएँ । रक्तसंचार सेवाका पदाधिकारीले मलाई मन्त्रालय लिएर गए । त्यहाँ पनि रक्तदान सम्बन्धी छलफल रहेछ । त्यहाँ तीन दिनसम्म चल्ने रक्तदान कार्यक्रममा पहिलो दिनमै करीब ५०० जनाले रक्तदान गरेको जानकारी दिए । मन्त्रीले अमेरिकादेखि आएर रक्तदान बढाउन साझेदारी गरेको भन्दै धन्यवाद दिइन् । मलाई प्रशंसा–पत्रले सम्मान पनि गरिन् । 

१५ घण्टा लगाएर १२ हजार किलोमिटर टाढा गई रगत दिनु चानचुने काम थिएन । म केन्याली युवालाई रक्तदानका लागि हौसला दिन गएको थिएँ । त्यहाँको सरकारले उल्टै मलाई थप हौसला दियो । धेरै खुशी भएँ । 

भोलिपल्ट बिहान पृथ्वीको बीच भाग भूमध्यरेखा जाने योजना बनाएर सुतें । बिहान ७ बजे डा. फ्रिदाहले फोन गरेर भनिन्, ‘जीबीएस टेलिभिजनमा १ बजे तपाईंको अन्तरवार्ता तय भएको छ ।’ 

कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टिभीमा अन्तरवार्ता दिएपछि ५ बजे रक्त संचार सेवाकी निर्देशकको कार्यालयमा गई पूरै तीन दिनको समीक्षा गर्‍यौं । ती निर्देशक र सर्वाधिक रक्तदाता ऐशाले मलाई साँझ् ७ बजे एअरपोर्ट पुर्‍याइदिए । 

अध्यागमन अधिकारीलाई बोर्डिङ पास र पासपोर्ट दिएँ । ती अधिकारीले मेरो अनुहार हेर्दै सोधे, ‘तपाईं हिजो बेलुका टेलिभिजनमा देखिनुहुने व्यक्ति हो ?’ मैले रक्तदानको लागि आएको बताएँ । उनले मसँग हात मिलाएर सेल्फी लिए ।

‘म रक्तदान गर्न तपाईंबाट प्रभावित भएको छु’ ती अधिकारीले भने । यसरी त्यहाँको नागरिकबाट प्रतिक्रिया पाउँदा धेरै खुशी लाग्यो । एअरपोर्टभित्रका पसलमा बेच्न राखेका समाचार पत्र ‘पिपुल डेली’ मा मेरो समाचार देखें । त्यो पत्रिका साथै लिएर म न्यूयोर्क आइपुगें ।

रगत दिने मेचमा मलाई सुताएपछि मेरो पाखुरा हेर्न मन्त्री आफैं आइन् । विगतमा रक्तदान गर्दा सुई घुसारेको ठाउँ हेर्दै स्पर्श गरिन् । शायद उनलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला भन्ने उत्सुकता थियो कि !

प्रस्तुतिः राजेश कोइराला

(कोइराला नेपाली–भाषाको अमेरिकी न्युजलेटर ‘अक्षरिका’ का सम्पादक हुन् ।)

प्रतिकृया दिनुहोस