थप समाचारशुक्रबार, ३ आश्विन , २०७६

के हाे प्रजातान्त्रिक अभिभावकत्व?

शुष्मा बराली

बालबालिकाले उमेर अनुसारको व्यवहार र उचित स्याहारसुसार नपाउँदा मानसिक दबाब झेलिरहेका हुनसक्छन् । 

अभिभावकत्व निर्वाह गर्ने क्रममा बालबालिकाले झनक्क रिसाउने, भनेको नमान्ने, सुनेको नसुने झैं गर्ने जस्ता असामान्य व्यवहार देखाइरहेका हुनसक्छन् ।

यस्ता क्रियाकलाप देखिने वित्तिकै समाधान नगर्ने हो भने वयस्क हुन्जेल तिनले साथ छाड्दैनन् । अर्थात् अभिभावकले थाहा नपाई विकराल समस्या बनिसकेको हुन्छ ।

पारिवारिक वातावरण भन्दा छुट्टै बस्न रुचाउने, मोबाइल, ट्याब, आईप्याड जस्ता डिजिटल उपकरणसँग मात्रै समय बिताउने, आफन्तबीच घुलमिल हुन मन नपराउने जस्ता समस्या उपयुक्त अभिभावकत्व नपाउँदाका परिणाम पनि हुनसक्छन् ।

अन्तरसांस्कृतिक मनोविज्ञानमा विद्यावारिधि नरेन्द्रसिंह ठगुन्ना व्यस्त जीवनशैलीका कारण बालबालिकालाई समय दिन नसक्दा उनीहरू एकलकाँटे हुने र निराश भए झैं देखिने गरेको बताउँछन् ।

उनका अनुसार कतिपय परिवारमा आफ्नो हुर्काइ निरङ्कुश शैलीमा भएको सम्झेर सन्तानलाई अत्यधिक छुट दिंदा विभिन्न खालको समस्या आएको हो । “अभिभावकत्व चार प्रकारका हुन्छन्– निरङ्कुश, अत्यधिक खुलापन, प्रजातान्त्रिक, र बेवास्ता/उपेक्षा गर्ने अभिभावकत्व”, उनी भन्छन्, “प्रजातान्त्रिक अभिभावकत्वलाई भने विश्वमा सबैभन्दा राम्रो मानिन्छ ।”

ठ्याक्कै यही शब्दावली प्रयोग नगरे पनि लेखिका आन्विका गिरीले आफ्नी १२ वर्षीया छोरीलाई यस्तै अभ्यासमा हुर्कारहेकी छन्।

आन्विका छोराछोरीलाई साथी जस्तो व्यवहार गरेर उनीहरूले खुलेर बोल्न सक्ने वातावरण बनाउनुपर्ने बताउँछिन् । “छोरी ७ वर्षकी हुन्जेल उनको रुचि विचार गरी के गर्ने, के नगर्ने भनिदिन्थें तर ८ वर्ष लागेपछि केही निर्णय आफैं लिन छाडिदिएकी छु” उनी भन्छिन्, “के खान मनपर्छ, कस्तो लुगा लगाउनेदेखि पढ्ने रुचि छ लगायत राम्रो र नराम्रो लाग्ने हरेक कुरा छोरी खुलेर भन्छिन् ।”

मनमा लागेका कुराहरू खुलेर अभिभावकसँग भन्न नसक्दाको पीडाले बालबालिकामा नकारात्मक असर पर्ने आन्विकाको भनाइ छ । “बच्चा त हुन् नि ! भनेर बेवास्ता गरियो वा आफूले पनि कुरा लुकाइयो भने उनीहरु खुल्दैनन्; तर आफ्ना कुरा सुनाउन सक्ने वातावरण भयो भने उनीहरूलाई पनि सुन्न पाइन्छ” उनले भनिन् ।

भनेको मान्न दबाब दिने वा अनुशासनका नियम लाद्ने गरियो भने अभिभावक र बालबालिकाको सम्बन्धमा फाटो आउने उनी बताउँछिन् ।

प्राध्यापक राम लोहनी  बालबालिकाले नहिचकिचाई आफ्ना कुरा भन्न सक्ने वातावरण बनाउन सुझाउँछन् ।

१३ र ७ वर्षीया दुई छोरीको बुबा लोहनी अभिभावक र बालबालिकाको सम्बन्ध आत्मीय बनाउन सकियो भने मात्र उनीहरुलाई चिन्न सकिने बताउँछन् । “स्कूलमा भएका क्रियाकलाप, साथी, शिक्षक र बाटोमा देखेका कुराबारे थप जानकारी पाउन छोरीहरू प्रश्न गर्न चाहन्छन्” उनी भन्छन्, “उनीहरूको उत्सुकता पर्गेल्न अभिभावकले सन्तानलाई हरेक दिन निश्चित समय दिनैपर्छ ।”

अभिभावक र बालबालिकाको सोच निकै फरक हुने भएकाले कहिलेकाहीं आफू पनि ‘बालक’ जस्तै बन्नुपर्ने लोहनीको अनुभव छ । उनी भन्छन्, “यो गर, त्यो नगर भनेर निर्देश गर्नुभन्दा व्यावहारिक तरिकाले गलत छ भनेर बुझाउन सक्नुपर्छ ।”

 

प्रतिकृया दिनुहोस