नेपालले माल्दिभ्सलाई बराबरीमा रोक्यो
साफ यु–१८ च्याम्पियन्सिपमा नेपालले माल्दिभ्सलाई १–१ गोलको बराबरीमा रोकेको छ ।
हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो ।
नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए ।
माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए । मनिषले खेलको ७६औँ मिनेटमा हेड गोल गर्दै नेपाललाई हारबाट जोगाए । उनले बृजेश चौधरीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ । माल्दिभ्सको पनि समान एक अङ्क नै भएको छ । नेपालले आइतबार भूटानसँग दोस्रो खेल खेल्नेछ ।
प्रतियोगिताको समूह ‘बी’ मा भारत, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।