टिप्पणी विहीबार, असोज २, २०७६
एकादेशका भए–ठेटुवाका चोला, सहनाई र ठाडी भाका
–अच्युतराज भण्डारी
छायाँनाथ रारा नगरपालिका–४ मुगुकी ७० वर्षीया सौली भामले केही वर्षअघिसम्म मेशिनमा बुनेका कपडा देखेकै थिइनन् । तर, अचेल ठेटुवाका घरबुना कपडा देख्न छाडिन् । उनी स्थानीय उत्पादन ठेटुवाबाट बनाइने गापन र चोला लगाएर हुर्किइन् । उतिवेला ठेटुवाका आँगा, जगेला, दौरा–सुरुवाल, गामन, चोला लगाउने चलन थियो । तर, अहिले कर्णाली खस सभ्यता झल्काउने यी पहिरन हराउँदै गएका छन् ।

सोरु गाउँपालिका–३ का लालु धामीले ठेटुवा उत्पादनका लागि गाउँमा कपास खेती शुरू गरेका छन् । स्थानीय पहिरनका कच्चा पदार्थ उत्पादन हुनै छाडेपछि आयातित कपडाले ठाउँ पाएको उनको भनाइ छ ।
मुगुका मेलापर्वमा परम्परागत गीत पनि सुनिन छाडेको छ । सौली भन्छिन्, “हाम्रो पालामा गाइने झोडा, मागल, धारु, रत्यौली, छैटी, बालो, बाकटेनाच, चम्फा, आरती हराउन थालेका छन् । पहिला वनपाखामा गुञ्जिने देउडा, ठाडी भाका त एकादेशका जस्तै भए ।” संरक्षण र पुस्तान्तरण नहुँदा मुगेली संस्कृति लोप हुन थालेका हुन् ।
खत्याड गाउँपालिका–८ का ६० वर्षीय रामसिं लुवार बिसु संक्रान्ति मेला लाग्ने बजेडी नगएकै एक दशक भयो । पहिला हरेक बिसु संक्रान्ति अर्थात् १ वैशाखमा तीन घण्टा पैदल हिंडेरै उनी त्यहाँ पुग्थे । मेलामा देउडा खेल्ने चलन थियो । खत्याडका नखर्जी, बुम्लिका, जामीर, कर्खा, लुइ, ठामलेक लगायत गाउँबाट मात्र नभई बाजुराबाट समेत देउडा गाउन र हेर्न आउँथे ।
खत्याड–९ बुम्लिकाका पद्दीपे धरालाका अनुसार बिसु मेला सुनसान हुन थालेको करीब १५ वर्ष भयो ।
पुस मसान्त राति आगोको धुवाँमा खेलिने धुइ पनि हराउँदै गएको छ । हरेक घरबाट संकलन गरेको मूढा बालेर आगो ताप्दै महिलाहरू रातभरि देउडा खेल्ने चलन थियो ।
छायाँनाथ रारा नगरपालिका–१ की ६० वर्षीया केशरकला मल्लले १२ वर्षको उमेरदेखि झोडा गाएकी हुन् । विवाह, ब्रतबन्ध, देवी–देवताको पूजा र अन्य उत्सवमा झोडा गाइन्थ्यो । रातभरि गाएपछि बिहान कोसेली र पैसा दिन्थे । १५–२० महिला दुई समूहमा आमनेसामने भएर झोडा गाइन्छ । “केही वर्ष यता झोडा सुनिनै छाड्यो, नयाँले संस्कृति बिर्सिए” मल्ल भन्छिन् ।

मुगुबाट पञ्चेबाजा र सहनाई पनि लोप हुन थालेका छन् । विवाह, ब्रतबन्ध लगायत उत्सवमा बजाइने यी बाजा भेटिनै छाडेको खत्याड–१० ह्याङलुका ६० वर्षीय गजसिं नेपाली बताउँछन् । उनले २० वर्षअघि रु.५५०० मा जुम्लाबाट सहनाई किनेर ल्याएका थिए । अहिले पनि विवाह ब्रतबन्धमा उनी त्यही सहनाई बजाउँछन् ।
“मैले छोरालाई धेरै चोटि सिकाउन खोजें तर सिक्नै मानेन । बाउबाजेले बजाउने गरेको बाजा हराउँदा चिन्ता लाग्छ”, उनी भन्छन् ।
खत्याड–८ का सहायक हुड्के बुदे नेपालीका अनुसार मागी बिहे हुँदा दमाहा, सहनाई, नरसिङ्गा, ढोल, ताल र हुड्को बजाएर बेहुलाको घरबाट बेहुलीको घर जाने चलन थियो ।
हातमा डमरु जस्तै देखिने हुड्को समातेर दुई जना सहयोगी (स्थानीय भाषामा जोल्या) को साथमा पुराना वीर (पैकेला) का कथा (भात्ता) भनेर दिनैभरि नाचिने नाच नै हुड्के हो । पछिल्लो समय मन्दिरमा बिहे गर्ने चलनले हुड्के बाजा र नाच लोप हुँदै गएको ६७ वर्षीय सम्पत्ति कार्की बताउँछन् ।
यति मात्र होइन, जिल्लाबाट परम्परागत गहना पनि हराउन थालेका छन् । चाँदीबाट बनेका कल्ली र पैरा, बाला, सानी माला, ठूलीमाला, साङ्ला, मुगा माला, ढुङ्ग्री, चक्री, कालो, पहेंलो, सेतो पोत्या, कपुर्ने माला लगायत पुराना गहना देख्नै मुश्किल छ ।
छायाँनाथ रारा नगरपालिका–४ की छ्याउका भाम भन्छिन्, “सानो छँदा पुराना गहना लगाएको देखिन्थ्यो, अचेल लगाउन छाडे ।” रानीहार, मङ्गलसूत्र, झुम्का, रिङ, छड्के तिलहरी, चन्द्राहार लगायत आधुनिक गहनाका कारण परम्परागत गहना हराएका उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस
ताजा अपडेट
- आइतबार, मंसिर २२, २०७६ काठमाडौंमा ‘मर्यादित महिनावारी’ दिवस
- आइतबार, मंसिर २२, २०७६ उपनिर्वाचनकाे सन्देशः जनता खूशी छैनन् सरकारसँग
- आइतबार, मंसिर २२, २०७६ रोनाल्डोको गोलबाट जोगिएन हार, टुंगियो युभेन्टसको अपराजित यात्रा
- आइतबार, मंसिर २२, २०७६ सोमबार नेकपाको सचिवालय बस्दै, केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल