कप्तान पारसले भने– दुई वर्षपछि टीममा नरहन सक्छु
नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले २०२३ को विश्वकप नखेल्ने संभावना रहेको बताएका छन् ।
सिंगापुर र ओमान जाने टोलीको घोषणा कार्यक्रममा कप्तान पारसले फिटनेसका कारण आगामी विश्वकपसम्म आफू टीममा रहने संभावना कम रहेको बताए ।
उनले भने, “मेरो अहिलेको फिटनेसको अवस्था हेर्दा २०२३ को विश्वकपसम्म टीममा रहने संभावना कम देख्छु ।”
कप्तान खड्काले रहरले मात्रै नहुने बताए । “अबको एक वर्ष कस्ताे रहन्छ, त्यसैमा मेरो क्रिकेट करिअर भर पर्छ”, उनले भने ।
आफू धेरै समय राष्ट्रिय टीममा रहने संभावना नरहेकाले युवा खेलाडीलाई ग्रुम गरेर जिम्मेवार बनाउन लागेको पनि कप्तान खड्काले बताए । टीममा नरहे पनि क्रिकेटमै सक्रिय रहने कप्तान खड्काले बताए ।
सिंगापुर र ओमानमा हुने क्रिकेट टीममा नियमित उपकप्तान ज्ञानेन्द्र मल्ल, भरपर्दा ब्याट्म्यान शरद भेषवाकर र अनुभवी बलर वसन्त रेग्मी परेनन् भने कुशल मल्ल र सुशन भारीले डेब्यूको अवसर पाएका छन् ।