कश्मीरमा ‘जिहाद’ चाहने पाकिस्तानी देशका लागि अपराधीः इमरान खान
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोही पनि पाकिस्तानी कश्मीरमा गएर जिहाद गर्न चाहन्छ भने कश्मीरीहरूका लागि सबैभन्दा ठूलो अपराधी त्यही हुने बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बुधबार अफगानिस्तानको एक व्यापारिक सीमा उद्घाटन कार्यक्रममा पत्रकारले सोधेको प्रश्नको उत्तरमा उक्त कुरा बताएका हुन् ।
खानले बताए,“भारतले अहिले कश्मीरमा नौ लाख सेना राखेको छ । उसलाई अहिले बहाना चाहिएको छ । उसले त भन्ने नै छ कश्मीरी त हाम्रै साथ छन् तर पाकिस्तानबाट आतंककारीको घुसपैठ भएको छ भन्दै अपराध गर्ने बहाना पाउने छ ।”
इमरानले भने,“भारतले विश्वलाई भन्नेछ– पाकिस्तानले आतंककारी पठाउँदैछ । सबैको ध्यान हामीतर्फ रहनेछ । त्यसै पनि अहिले भारतमा प्रेसर बढिरहेको छ । यदि कसैले यहाँ केही ‘हरकत’ गर्छ भने ऊ पाकिस्तान र कश्मीरीहरूको पनि शत्रु हुनेछ ।”
खानले भारतमा साधारण सरकार नभएको नभएको बताएका छन् । उनले भारतमा एक घृणाले भरिएको राजनीतिक समूहले राजनीतिमा कब्जा गरेको बताएका छन् ।
उनले कर्फ्यू र धारा ३७० नहटाउँदा सम्म कुनै वार्ता नहुने पनि बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघको आगामी आमसभामा कश्मीरबारे यथार्थ विवरण प्रस्तुत गर्ने पनि बताए । –एजेन्सी