डा. सन्दुक रूइतको जीवनी आउँदै
विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत ११ असोजमा सार्वजनिक हुँदैछ ।
प्रकाशक फाइनप्रिन्टले बुधबार एक विज्ञप्ति जारी गर्दै पुस्तक असोज ११ गते राजधानीमा एक कार्यक्रममार्फत सार्वजनिक गर्ने जनाएको हो ।
अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।
डा. रूइतको जीवनी लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा हो ।
“अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा म एकदम हर्षित भएको छ । मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु”, म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाइसकेका डा. रूइतले भने ।
पुस्तक अनुवादक खगेन्द्र संग्रौलाका भनाईमा सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत सानदार जीवन हो ।
“यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षणहरु हुन्”, संग्रौला भन्छन् ।
प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने, “विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो । मलाई लाग्छ, जोन उडको माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्मले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ ।”
उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो ।
उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।