समाचारआइतबार, २९ भाद्र , २०७६

मिथिलामा जितिया पर्वको तयारी 

रासस

तराईका जिल्लामा पितृपक्ष (सोह्र श्राद्ध) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् ।

तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष (असोज कृष्णपक्ष) शुरु हुनासाथै पुत्रवती मिथिलानी (मिथिलाका नारी) ले जितियाको चर्चा र तयारी थालेका हुन् ।

पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ । पितृपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।

अष्टमी शुरु हुनु एक घडी (करीब साढे दुई घण्टा) पूर्व शुरु हुने उपवास एक अहोरात्रपछि नवमी तिथि एक घडी कटाएर समापन गरिने मैथिल परम्परा छ ।

सन्तानको सौर्यवृद्धि र कल्याणको कामनाका लागि गरिने यो व्रत विधि कठिन भएकाले यसको चर्चा र तयारी केही दिन पहिले नै शुरु हुने गरेको हो ।

यस पर्वमा निराहार व्रत शुरु गरिएपछि समापन नगरुञ्जेल थुक निल्नु, अञ्जानमै पनि कीरा, फट्याङ्ग्रा र झारपात मारिनु, चुँडिन नहुने धार्मिक मान्यताले गर्दा यो पर्व निकै कठिन विधिको रुपमा रहेको मिथिला परम्पराका ज्ञाताहरू बताउँछन् ।

पहिले सन्तान (छोराछोरी)को कल्याणको कामनार्थ गरिँदै आइएको यो व्रत पछि छोराको नाउँमा मात्र सीमित गरिएको बताइएको छ ।

यसपालि यो व्रत तिथिको घटबढले आउने शनिबार ४ असोजमा परेको छ । आगामी ३ असोजको राति २.३० बजेअघि दही चिउरा ‘ओगटन’ (दर) खाएर शनिबार निराहार व्रत बस्ने पुत्रवती महिलाले एक अहोरात्र कटाएर नवमी तिथि एक घडी कटाएपछि व्रत समापन गर्नेछन् । यसपालि ५ असोज दिउँसो २.३० बजे कटाएर मात्र व्रत समापन गर्न सकिने छ ।

पर्वमा सप्तमीका दिन (निराहार व्रतको एक दिन पहिले) एकाबिहानै पवित्रजलाशयमा नुहाएर सूर्य देवतालाई तोरीको तेल र पिनाको अघ्र्य देखाएर व्रत सङ्कल्प गरिन्छ । व्रतालुले दिवङ्गत सासू, जेठानी, बूढीसासू, नन्द–आमाजु र तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलनले यस पर्वलाई ‘षोडष मातृका श्राद्ध’ पनि भन्ने गरिएको कर्मकाण्डी पुरोहितहरुको भनाइ छ ।

सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘तिमी आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर’ भन्ने कामना गरिन्छ ।

प्रतिकृया दिनुहोस