थप समाचारआइतबार, २९ भाद्र , २०७६

एक वर्षमा २३४ बालिका बलात्कार, पीडक चिनेजानेकै

राष्ट्रिय बाल दिवस

लक्ष्मी बस्नेत

आइतबार राष्ट्रिय बाल दिवसको अवसरमा नेपालमा विभिन्न कार्यक्रम गरी बालदिवस मनाइँदै छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद् तथा विभिन्न गैरसरकारी संघसंस्थाको आयोजनामा राष्ट्रिय बाल दिवसको अवसरमा देशैभरि बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम हुने गर्दछन्।

दिवस मूल समारोह समितिको आयोजनमा राजधानीमा विशेष कार्यक्रम भएको छ । दिवसको यसवर्षको नारा “सुनिश्चित बालअधिकार : समृद्ध नेपालको आधार” तय गरिएको छ ।

नेपालमा बालअधिकार हननका घटनामध्ये सबैभन्दा बढी बलात्कार र यौन हिंसा तथा हुने गरेको देखिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषदले तयार गरेको वार्षिक प्रतिवेदनले बालबालिकामाथि हुने विभिन्न खाले हिंसामध्ये यौन हिंसा एवं बालिका बलात्कारका घटना सबैभन्दा बढी देखिएको हो ।

परिषदले संचारमाध्यममा प्रकाशित हुने घटनालाई विश्लेषण गरेर हरेक चौमासिक र वार्षिक प्रतिवेदन तयार गर्ने गरेको छ ।

जस अन्तर्गत आर्थिक वर्ष २०७५\७६ मा संचारमाध्यममा प्रकाशित बालबालिका सम्बन्धी विभिन्न घटनाको स्थिति विश्लेषण प्रतिवेदनमा ६५४ वटा घटना भएको र त्यसमा एकहजार ८० वटा बालबालिका पीडित भएको देखिएको छ ।

बालश्रम, बलात्कार, बालविवाह, हत्या, बेचबिखन र ओसारपसार, शारीरिक सजाय आदिका बारेमा विभिन्न संचारमाध्यममा आएका घटनालाई संकलन गरेर परिषदले चौमासिक तथा वार्षिक प्रतिवेदन तयार गर्ने गरेको छ ।

प्रतिवेदनका अनुसार सबैभन्दा बढी बाल यौन दुर्व्यवहार र बलात्कारका घटना भएका छन् । यस खालको घटना कूल २५२ रहेकामा २३४ (९३ प्रतिशत) बालिका र १८ जना बालक पीडित भएका छन् ।

बालकमाथि यौन दुर्व्यवहार हुन्छ भने बालिकामाथि बलात्कार भएको छ । बलात्कारमध्ये सबैभन्दा बढी चिनजानका मान्छे र छिमेकीबाट भएको छ भने त्यसपछि हाडनाता करणीका घटना देखिन्छ । 

जसमा आफ्नै बुबा तथा हाडनाताबाट (३८ वटा), शिक्षक, कर्मचारी, प्रहरी, सेना (२७), छिमेकी (७२), चिनजानका (७४), घरेलु बालश्रममा रहेका बेला (६), अन्य (१७) घटना भएका छन् ।

ती घटनामा पीडकको संख्या १७२ रहेको छ । पीडक उमेरगत अवस्था हेर्दा १८ वर्ष मुनिका ३१ जना र ६० वर्ष माथिका २३ जना संलग्न छन् । राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर परिषदले बालबालिका सम्बन्धी यस खालका घटना विश्लेषण प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस