टिप्पणी आइतबार, भदौ २९, २०७६

डेङ्गीबाट नडराऔं

हिमालखबर

–डा.नारायण ज्ञवाली

नयाँ वर्ष आरम्भ भएसँगै पूर्वी–तराईबाट शुरु भएको डेङ्गी अहिले देशका ४० बढी जिल्लामा फैलिएर लगभग पाँच हजार मानिस सङ्क्रमित भइसकेका छन् । यद्यपि यो सरकारी तथ्याङ्क यथार्थपरक छैन ।

तस्वीर : बिक्रम राई

डेङ्गी खोक्दा, हाच्छिउँ गर्दा वा शरीरबाट निस्कने र्‍याल, पीप अथवा थुक जस्ता तरल पदार्थका माध्यमबाट सर्दैन । यो एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो हो ।

यसको सङ्क्रमण हुँदा केही दिन ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिन्छन् । सङ्क्रमितमध्ये केही सिकिस्त हुन पनि सक्छन् ।

डेङ्गी सङ्क्रमितमा रगतमा पानीको मात्रा कम भई रक्तचाप घट्छ । प्लेटलेटको संख्या कम हुन थाल्छ । रक्तनलीहरूबाट शरीरका अन्य तन्तुमा रगत जान थालेपछि शरीरमा राता डाबर देखा पर्न सक्छन् ।

रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभाव हुँदा बिरामीको मृत्युसम्म हुन सक्छ । डेङ्गी भाइरसको संरचना, विविधता, बिरामीको रोग प्रतिरोधात्मक शक्ति, वंशाणुगत पृष्ठभूमि, डेङ्गी लामखुट्टेले सार्ने अरू भाइरसको उपस्थिति आदिले डेङ्गी भाइरसको रोग वृद्धि हुने क्षमता निर्धारण गर्छ ।

डेङ्गी हो होइन भनेर खुट्याउने किट छैन वा अभाव छ जस्ता टिप्पणी सार्वजनिक हुनु सरकारको गैर–जिम्मेवारी र रोग नियन्त्रणप्रतिको बेवास्ताको परिणाम हो ।

सन् २०१० देखि बढिरहेको डेङ्गी कुनै बेला महामारी बन्न सक्ने भविष्यवाणी विज्ञहरूले गर्दैै आए पनि सरकारले पूर्व तयारी स्वरुप र्‍यापिड किट समेत प्रबन्ध गर्न सकेन । त्यस्तो किट खासै महँगो पर्ने पनि होइन । पाँच महीना अघिदेखि फैलन शुरु भएको डेङ्गी नियन्त्रण हुनुको साटो अनपेक्षित रूपले बढ्दै गएको छ । यसको अर्थ हामी कहीं चुकिरहेका छौं ।

सरकारले डेङ्गी नियन्त्रण गर्ने कार्य प्राथमिकतामा नराख्नु पनि एक प्रमुख कारण हो । तीन तहका सरकारबीच समन्वयको कमी हुनु र एकले अर्कालाई दोषारोपण गरेर समय बिताउनु अन्य कारण हुन् । अहिले, लामखुट्टे मार्न औषधियुक्त धुवाँ उडाउने कार्य ‘फगिङ’ भइरहेको छ ।

‘फगिङ’ ले पानीमा रहेका अन्डा, प्युपा र लार्भा नष्ट गर्न नसक्ने हुँदा तीन–चार दिनमै लामखुट्टे फेरि देखापर्न थाल्छन् । डेङ्गी फैलाउने लामखुट्टे सामान्यतया मानिसकै वरिपरि, घरभित्रै बस्ने भएकाले बाहिरको फगिङ त्यति प्रभावकारी नहुँदा प्रकोपको जोखिम रहिरहन्छ ।

लामखुट्टे अनुकूल जीवनशैली
शहरमा अव्यवस्थित र घना बस्ती छ । घर वरिपरि जम्मा भएको पानी लामखुट्टेका लागि लार्भा उत्पादन गर्न उपयुक्त स्थान हो । बाटाघाटामा अनगिन्ती खाल्टाखुल्टी भएकाले पानी जम्छ । सडक छेउका नालीहरू नढाकिएका र सधैं पानी जमिरहने खालका छन् ।

हाम्रा पवित्रस्थल मन्दिरमा समेत पूजाअर्चना गर्दा थोरै–धेरै जल रहेकै हुन्छ । पालाहरूमा वर्षाको पानी जमेको हुन्छ । चियापसल, भट्टी जस्ता ठाउँहरू जहाँ मानिस गफिएर बसेका हुन्छन्, त्यसकै छेउछाउमा पानी जमेको हुन्छ । यसरी हेर्दा हाम्रा संरचना र दैनिकीहरू लामखुट्टेमैत्री छन् भन्ने सकिन्छ ।

जलवायु परिवर्तन र पहाडी क्षेत्रका शहरहरूमा बढ्दो तापक्रमका कारण पनि लामखुट्टेको वृद्धि–विकासमा सहयोग पुगेको छ । तापक्रमको अनुकूलतासँगै लामखुट्टे तराईबाट पहाडतिर स्थानान्तरण हुँदैछन् ।

प्लास्टिकका बोतल, चाउचाउ जस्ता जङ्क फूडका खोल यत्रतत्र फाल्ने गरिएको छ । सडक, बसपार्क, मठमन्दिर, पार्क लगायतका सार्वजनिक स्थानहरूमा डस्टबिन नहुँदा मानिसहरू यत्रतत्र फोहोर फाल्न बाध्य छन् । फोहोर हुन नदिन सडक विभाग, नगरपालिका, वडा र गाउँबाट कसैले अग्रसरता नदेखाउनु र आआफ्नो भूमिका बुझ्न नसक्नु अर्को चुनौती हो ।

शहरी क्षेत्रमा खानेपानीको अभाव हुन नदिने र हरेकले सङ्कलन गरेर राखिएको पानी छोपेर राख्ने बानी नगरेसम्म लामखुट्टेको संख्यामा कमी ल्याउन सकिंदैन । यहाँ डा.शेरबहादुर पुनको भनाइ स्मरणीय छ– “यो समस्या समाधानको चाबी स्वास्थ्य मन्त्रालयसँग नभई खानेपानी मन्त्रालयसँग छ ।”

यसपटकको डेङ्गी महामारी पहिलेको भन्दा फरक छ । डाक्टरहरूका अनुसार अहिले बिरामीहरूले घाँटी र कान दुख्ने गुनासो गरेका छन् । पहिलेका प्रकोप सामान्यतया कुनै निश्चित स्थानका हुन्थे ।

त्यस कारण पनि अहिले ‘सर्कुलेट’ भएका डेङ्गी भाइरसहरू वंशानुगत रूपमा पहिलेका भन्दा फरक रहेको अनुमान गर्न सकिन्छ । अहिले दुई वा बढी ‘सेरोटाइप्स’ एकै चोटि फैलिएको हुन सक्छ । यसबारे सूक्ष्म अध्ययन जरूरी छ ।

प्रायः हरेक वर्ष देखिएका डेङ्गी के–कस्ता छन्, कुन ‘सेरोटाइप्स’ र कुन ‘जिनोटाइप्स’ हुन् ? कुन सेरोटाइप्सको प्रवृत्ति कस्तो छ, वंशानुगत परिवर्तन भएको छ कि ? लामखुट्टे के कसरी कता र किन स्थानान्तरण हुँदैछन् ?

जस्ता विषयमा अनुसन्धान गर्न सकियो भने महामारीको पूर्वानुमान र नियन्त्रण गर्न सजिलो हुन्छ । अहिलेसम्म विदेशीहरूले गरेका पूर्वानुमान, प्रकोपका कारण, बच्ने उपाय र योजनामा निर्भर हुनु परेको छ । ती सबै हाम्रा लागि जस्ताको तस्तै लागू नहुन सक्छन् ।

अहिलेसम्म डेङ्गीको औषधि अथवा खोप नेपालमा छैन तर प्रारम्भिक लक्षणका आधारमा चिकित्सकले डेङ्गी सजिलै निको पार्न सक्छन् । डेङ्गी सङ्क्रमण र महामारीबाट बच्ने सरल र उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

(डा. ज्ञवाली अष्ट्रेलियाको क्विन्सल्यान्डस्थित मेडिकल रिसर्च इन्ष्टिच्युटको लामखुट्टे नियन्त्रण प्रयोगशालामा पोस्ट–डक्टरल वैज्ञानिकका रूपमा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस