समाचार मंगलबार, भदौ २४, २०७६

एनसेलको पक्षमा फैसला गर्ने न्यायाधीशविरुद्ध महाअभियोगको माग

हिमालखबर

एनसेल प्रकरणमा मुलुकलाई अर्वौको क्षति पुग्नेगरी फैसला गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सांसदहरुले माग गरेका छन् ।

प्रतिनिधिसभाकोे शून्य समयमा बोल्दै सांसदहरुले न्यायालयले न्याय दिन नसकेको भन्दै महाअभियोगकै माग गरेका हुन् । सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम न्यायालयले गरेको आरोप बताए ।

सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेकाले यसबाट सांसदको मनोबल गिरेको बताए ।बानियाँले त्यस्ता न्यायाधीशलाई संसदमा महाअभियोग लगाउनुपर्ने माग राखे ।

सांसद पार्वता डिसी चौधरीले एनसेल प्रकरणबारे सर्वोच्च अदालतले गरेको फैसलापछि समग्र न्यायालयप्रति नै जनताको वितृष्णा फैलिएको बताइन् ।

सर्वोच्चको फैसलापछि हरेक पटकको संसद बैठकमा सांसदहरुले आपत्ति जनाउँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले ऐनसेल प्रकरणमा सरकारले पुनरावलोकन गर्नुपर्ने बताएका थिए ।

स्वतन्त्र सांसदहरु प्रेम सुवाल र हृदयेश त्रिपाठीले पनि सर्वोच्चको फैसलाले देशलाई ठूलो क्षति पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

९ भदौ सर्वोच्चले गत ३ वैशाखमा ठूला करदाता कार्यालयले निर्धारण गरेको रु. ६२ अर्ब ६३ करोड तिर्नुपर्ने निर्णयलाई बदर गरेको थियो ।

न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको संयुक्त इजलाशले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा १२० काे दफा ‘क’ आकर्षित नहुने फैसला गरेको थियो ।

 

प्रतिकृया दिनुहोस