रोल्पामा हराएकामध्ये अधिकांश सम्पर्कविहीन
रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताइन् ।
सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले मादकपदार्थ सेवन गरी कुटपिट गर्ने तथा भागेर विवाह गरी परिवारलाई जानकारी नदिएका कारण पनि हराएको तथ्याङ्क बढी देखिएको इन्चार्ज बुढामगरले जानकारी दिइन् ।
हराउनेमध्ये अधिकांश आर्थिक अवस्था कमजोर रहेका तथा जिल्लाको सीमा क्षेत्र पाखापानी, सखी, मसिना, जिनावाङ, मिरुललगायत गाविसका छन् ।
हराएकामध्ये २० पुरुष र १७ जना महिला रहेको तथा अधिकांश २० वर्ष माथिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हराएकाको खोजी कार्य तीव्र पारिएको भए पनि हालसम्म पाँच जना मात्र फेला परेको प्रहरीले जनाएको छ । त्यसरी भेटिएकामध्ये चार बालबालिका र एक महिला रहेका छन् ।
अघिल्लो वर्ष जिल्लाबाट ८० जना हराएकोमा हालसम्म उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।
रासस