तिवारी हत्याबिरुद्ध लुम्बिनी ठप्प, बुटवलमा तनाव
एमालेको भ्रातृ संगठन युवा संघ नेपालका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा संघले लुम्बिनी अञ्चलका जिल्लाहरु बन्द गराएको छ ।
घटनाको छानबीन, दोषीलाई पक्राउ र कारबाहीको माग गर्दै युवासंघले बन्दको आव्हान गरेको हो ।
हत्याको विरोध गर्दै हिजो बेलुका ६ बजेदेखि नै बुटवलमा चक्काजाम गरिएको थियो ।
आज बिहानैदेखि बुटवलमा एमाले कार्यकर्ता सडकमा उत्रिएका छन । अवरोधका कारण पूर्वपश्चिम राजमार्ग तथा अन्य सडकहरुमा सवारीका साधन ठप्प छन् ।
तिवारीलाई रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाईकलमा आएका दुई अज्ञात ब्यक्तिले गोली प्रहार गरेका थिए ।
दिउसो करिब साढे ३ बजे रातो पल्सर बाइकमा आएका २ अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए ।
देब्रे कोखमा गोली लागि घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बुटवल प्रहरीले जनाएको छ ।
तिवारी माथि गत वर्ष ६ चैतमा पनि गोली प्रहार भएको थियो । त्यसबेला देवदहका मनोज पुनको अगुवाईमा तिवारी ंमाथि गोली प्रहार भएको प्रहरीले जनाएको थियो ।
अहिलेपनि सो समूह नै हत्यामा संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक रविनद्रसिंह धानुकले बताए ।
आरोपित मनोज खरखजाना तथा संगठित अपराध र ज्यान मार्ने उद्योगमा फरार व्यक्ति हुन् ।
हाल मलेशियामा रहेको भनिएका मनोजले पीडित परिवार र स्थानीयलाई आफ्नो समूहले हत्या गरेको भन्दै इन्टरनेटबाट फोन गरेका थिए ।
यद्यपी घटनाबारे विस्तृत अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
युवासंघले भने जसले जसलाई प्रयोग गरेको भएपनि घटना राजनीतिक प्रतिशोधका कारण भएको भन्दै घटनाको सत्यतथ्य अनुसन्धानको माग गरेको छ ।
दीपक ज्ञवाली, बुटवल