नेविसङ्घ निर्वाचन शनिबार हुने
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि २९ साउनमा निर्वाचन हुने भएको छ ।
नेवि सङ्घले आज सबै महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरी कार्ड, झोला र अन्य सामग्री वितरण गर्ने जनाएको छ । त्यस्तै, सङ्घको निर्वाचन गर्न पार्टीले गठन गरेको निर्वाचन समितिले आज दिनभरिमा मतदाता नामावली सूचि तयार गरी प्रकाशन गर्ने भएको छ ।
समितिले भोलि, २८ साउन शुक्रबार उम्मेदवारी मनोनयन दर्ता, उम्मेदवारी मनोनयनउपर दाबी विरोध र उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने समिति संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।
निर्वाचनका उक्त सबै कार्यक्रम पार्टी कार्यालय सानेपामा हुनेछन् । निर्वाचन भने २९ साउन बिहान ७ बजे राष्ट्रिय सभागृहमा गर्ने तयारी भइरहेको उनले बताए ।
२३ साउनमा नेवि सङ्घ महाधिवेशनको उद्घाटन भए पनि महाधिवेशन प्रतिनिधि विवाद मिलाउन ढिलाइ हुँदा बन्दसत्र अझै हुन सकेको छैन । नेवि सङ्घको महाधिवेशन सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशन समितिले विवादित ११ जिल्लाको प्रतिनिधिको २५ साउन राति टुङ्गो लगाएको हो ।
प्रतिनिधिको विवाद मिलेपनि महाधिवेशनस्थल भृकुटीमण्डपको सभाहल बुकिङ सकिएकाले बन्दसत्र कहाँ गर्ने भन्ने बारेमा अन्योलता उत्पन्न भएको छ । सङ्घले महाधिवेशन अवधिभर साउन २३ देखि २५ गतेसम्म उक्त सभाहल बुकिङ गरेको थियो ।
बन्दसत्र अन्योलताका बारेमा अध्यक्ष रञ्जीत कर्णले भोलि शुक्रबार बन्दसत्र र उम्मेदवारी मनोनयन दर्ता पार्टी कार्यालय सानेपामा एकैसाथ गर्ने तयारी भइरहेको जानकारी दिए । यद्यपि नेवि सङ्घका कतिपय नेताले भने अब बन्दसत्रको अध्याय समाप्त भएको जनाएका छन् ।
प्रतिनिधिको विवाद मिलाई निर्वाचन समितिलाई सबै नामावली प्रदान गरिसकेकाले अब बन्दसत्र भई निर्वाचन प्रक्रिया अघि बढ्ने निर्देशन समितिका संयोजक डा प्रकाशशरण महतले बताए ।