समाचारआइतबार, २२ भाद्र , २०७६

‘वैदिक सनातन धर्ममा छुवाछूत छैन’

हिमालखबर

हिन्दु धर्म र वैदिक सनातन दर्शनको सही व्याख्या हुन नसकेर समाजमा भ्रम छर्दै धर्ममाथि आक्रमण बढेको डा. मीठाराम विश्वकर्माले बताएका छन् ।

छुवाछूतबाट मुक्ति पाउन हिन्दु धर्म त्याग्नुपर्छ भनेर ठूला नेताले बोलेको कुरा समाजमा भ्रम छर्दै गलत नियतले मानिस भड्काएर धर्मको राजनीति गरेको बताए ।

अनादि परिषद नेपाल बानेश्वरको चिन्तन शृंखलामा डा. मीठाराम विश्वकर्माले पूर्वीय सनातन धर्म संस्कृतिका सकारात्मक र नकारात्मक पक्ष विषयमा प्रकाश पारे ।

देशका गण्यमान्य व्यक्तिले समाजमा धर्म संस्कृतिमाथि भ्रम छर्दा सामान्य मानिस विचलित भएर अस्थिरता आउने हुँदा यस्ता गलत नियत राख्ने मानिसले समाज भाँड्ने योजना प्रायोजित भएको बताए ।

अनादि परिषद नेपालले काठमाडौंको बानेश्वरमा प्रत्येक शनिबार विषयगत व्यक्तित्वलाई आमन्त्रित गरेर अन्तर्क्रिया तथा प्रवचन गर्दै आएको छ ।

विश्वकर्माले लामो समयसम्म शिक्षा सेवा, पत्रकारिता, दलित अगुवाको अनुभव, वैदिक वाङ्मय तथा पाश्चात्य दर्शन र राजनीतिक विचार विमर्शका क्रममा विभिन्न समयमा सँगालेका अनुभव केलाए ।

उनले पूर्वीय सनातन धर्म संस्कृतिमा देखिएका सकारात्मक पक्ष र नकारात्मक पक्षका बारेमा चर्चा गरे।

वैदिक सनातन धर्म संस्कृतिमा मानिस मानिसमा छुवाछूतको व्यवस्था नभएको, वेदको पुरुषसूक्तको गलत व्याख्या गरेर वेदको विज्ञान र दर्शनलाई छोपेको बताए ।

पछि लेखिएका विभिन्न पौराणिक ग्रन्थ र क्षेत्रगत भेदका संस्कृतका क्षेपकले गर्दा वेद बाहुनले मात्र पढ्ने भन्ने गलत मान्यताको विकास भएको विश्वकर्माले बताए ।

अब वेदको वैज्ञानिक र दार्शनिक व्याख्या गरेर वैदिक वाङ्मयका कुरालाई हाम्रा दैनिक व्यवहारसँग जोड्नुपर्ने विश्वकर्माकाे भनाइ थियाे ।

संस्कृतको ज्ञान भण्डारलाई अन्धविश्वास र आडम्बरको नाममा पाखा लाइरहने हो भने हाम्रो सभ्यतामा पहिरो जाने निश्चित भएकाे पनि उनले ठोकुवा गरे।

प्रतिकृया दिनुहोस