पवन र सन्दीप चम्किदा बाङ्लादेशलाई नेपालद्वारा २६२ रनको चुनौती
यू–१९ एसिया कप क्रिकेटमा बाङ्लादेशलाई नेपालले २६२ रनको चुनौती दिएको छ ।
नेपालले ८ विकेटको क्षतिमा २६१ रन बनाएको थियो । टस जितेर फिल्डिङ रोजेको बाङ्लादेश विरुद्ध नेपालका पवन सर्राफ र सन्दीप जोराले अर्धशतकीय पारी खेले । पवनले १०९ बल खेल्दै ८१ रन बनाएका थिए ।
छैटौं नम्बरमा आएका ब्याट्सम्यान जोराले ३७ बलमा तीन छक्का र तीन चौकाको मद्दतसहित ५६ रन बनाए ।
नेपालका लागि रित गौतम भने ३२ रनमा आउट भए । कुशल मल्ल २८, कप्तान रोहितकुमार पौडेल १४, भीम सार्की २१, रसिद खान ६ र आसिफ शेख ३ रन जोडेर बाहिरिए । कमल सिंह ९ रन र हरिबहादुर चौहान एक रनमा अविजित रहे ।
आयोजक श्रीलंकासँग पहिलो खेलमा पराजित नेपाल बाङ्लादेशलाई पराजित गर्दै लयमा फर्कन चाहन्छ भने बाङ्लादेश अपराजित यात्रा कायमै राख्ने तयारीमा छ । यसअघि बाङ्लादेशले यूएईलाई पराजित गरेको थियो ।
नेपालले भने आयोजक राष्ट्र श्रीलंकासँग पाँच विकेटले पराजित भएको थियो ।