मेलम्ची आयोजना परिसरमा निषेधित क्षेत्र घोषणा
मेलम्ची खानेपानी आयोजना स्थानीय कार्यालय वरपर प्रदर्शन गर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आदेश जारी गर्दै सिएमसी कम्पनीका पीडितले सो कम्पनीबाट लिनुपर्ने बाँकी रकमको भुक्तानीको माग गरी प्रदर्शनमा उत्रेपछि निषेधित क्षेत्र घोषणा गरिएको हो ।
जिल्लास्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालय, मुहान, सुरुङ क्षेत्रमा हुलदङ्गा र अशान्ति नमच्चाउन आग्रह गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३(क) बमोजिम शुक्रबारदेखि अर्काे आदेश जारी नभएसम्म अम्बाथान, खानेपानी, ग्याल्थुम सुरुङ र सिन्धु सुरुङ जाने बाटोमा हुलदङ्गा र अशान्ति गर्ने उद्देश्यले पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ ।
अम्बाथानमा पूर्वतर्फ सामुदायिक वन, पश्चिमतर्फ मेलम्ची खोलाको पहरो, उत्तरमा पार गाउँ जाने बाटो र दक्षिणमा तीम्ब खोला वरपर २०० देखि ५०० मिटर शुक्रबार ३ बजेदेखि अपराह्न ५ बजेसम्म र शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।
मेलम्ची खानेपानी कार्यालयमा पूर्वमा इन्द्रवती खोलाको बगर पश्चिमतर्फ श्री नं २ जगदल गण, ब्यारेक कार्यलय, उत्तरमा परीचोक जाने बाटो र दक्षिणमा धितालबेँसी चोक २०० देखि ५०० मिटरसम्म पनि शुक्रबार ३ बजेदेखि अपराह्न ५ बजेसम्म र शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म अर्काे व्यवस्था नहुञ्जेलसम्म जान निषेध गरिएको छ ।