एसिया कपमा अफगानिस्तानको विजयी शुरुवात, शुक्रबार नेपाल श्रीलंकासँग भिड्दै
यू–१९ एसिया कपमा साविक विजेता अफगानिस्तानले विजयी शुरुवात गरेको छ ।
१६३ रनको लक्ष्य पछ्याएको पाकिस्तान ७८ रनमै अलआउट भएपछि अफगानिस्तानले ८५ रनको फराकिलो जित निकालेको हो । ४६ ओभर खेल्दै १६२ रन बनाउँदा अफगानिस्तानका ब्याट्स म्यानहरुले औसत खेलेका थिए ।
तर, जवाफी ब्याटिङका क्रममा राहिल नाजीरले १६ र इर्फान खानले १९ रन जोड्नु बाहेक कसैले दोहोरो अंक लिन सकेनन् । पाकिस्तानलाई सस्तैमा अलआउट गर्न अफगानिस्तानका शाफीकुल्लाहले चार ओभर बलिङ गर्दै ३.७५ को इकोनोमी बनाउँदै तीन विकेट लिए ।
यसअघि समूह ‘ए’मा रहेको भारतले कुवेतविरुद्ध जित निकालेको थियो । २३ ओभरमा छोट्याइएको खेलमा कुवेतले सात विकेट गुमाउँदै १११ रनको चुनौती प्रस्तुत गरेको थियो ।
तर, जवाफी ब्याटिङमा भारतले १८.१ ओभर खेल्दै तीन विकेटको क्षतिमा जित निकाल्यो । अंक तालिकामा भने भारत दोस्रो स्थानमा छ । पहिलो स्थानमा भने अफगानिस्तान सुरक्षित भएको छ ।
एसिया कपमा शुक्रबार बिहान १०ः३० बजे नेपाल र आयोजक श्रीलंकाबीच खेल हुनेछ । यही समयमा बंगलादेश र यूएईबीच अर्को खेल हुनेछ ।