अदालतको आदेशपछि ओलम्पिक कमिटीको निर्वाचन स्थगित
नेपाल ओलम्पिक कमिटी (एनओसी) को शुक्रबारका लागि तय भएको कार्य समितिको निर्वाचन स्थगित भएको छ ।
सर्वोच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएसँगै २० गतेका लागि तय भएको एनओसीको निर्वाचन स्थगित गरिएको एनओसीद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । अर्को सूचना जारी नभएसम्म निर्वाचन स्थगित गरिएको जनाइएको छ।
१७ भदौमा सर्वोच्च अदालतले एनओसीको कार्यसमिति चुनाव रोक्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतले २०६७ मा मान्यता दिएको नेपाल ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको एनओसीको निर्वाचन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
रिटमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टङ्कबहादुर मोक्तानको इजलासले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षलाई २२ भदौमा छलफलका लागि बोलाएको छ ।