कमजोर छैन नेपालको पहिलो प्रतिस्पर्धी कुवेत
कतारमा २०२२ मा हुने विश्वकप छनोट खेल नेपालले बिहीबारदेखि खेल्दैछ । पहिलो प्रतिस्पर्धा कुवेतसँग हुँदैछ । अघिल्लो चरणमा प्रवेश गर्न नेपालले कुवेतसँगै जोर्डन, चाइनिज ताइपेई र अष्ट्रेलियासँग प्रतिश्पर्धा गर्नुपर्नेछ ।
'होम एण्ड अवे' गरी वर्षभर नेपालले यी देशहरुसँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलिया निकै बलियो टीम हो ।
तर, नेपालले जोर्डन, चाइनिज ताइपेई र कुवेतसँग खेलिसकेको छ । अहिलेसम्मको परिणाम हेर्दा नेपालले अघिल्लो चरण प्रवेश गर्नु सजिलो देखिदैन ।
पहिलो प्रतिस्पर्धा गरिरहेको कुवेत पनि बलियो बनिसकेको छ । अहिलेसम्म नेपालले कुवेतलाई एक पटक पनि हराउन सकेको छैन ।
उसो त कुवेत कुनै बेला फिफा विश्व बरियतामा २४औं स्थानमा थियो । सन् १९८२ मा स्पेनमा भएको विश्वकप फुटबल खेलिसकेको टीम हो, कुवेत ।
तर, पछिल्लो समय कुवेतको स्तर लगातार खस्कदै गयो । फिफाको प्रतिबन्धकै सामना गर्नुपरेको कुवेती फुटवल १८९औं स्थानसम्म झरेको थियो ।
सन् २०१७ पछि भने कुवेतले राम्रो फड्को मार्दै अहिले १५६औं स्थानमा छ । त्यसैले यसपटक कुवेत आफ्नै पुरानै छबि फर्काउने गरी खेलिरहेको छ । त्यसका लागि बृहत तयारी पनि कुवेतले गरिरहेको छ ।
क्रोएसियाली प्रशिक्षक रोमियो जोजाकले टीम सम्हालेपछि कुवेतले विश्वकप छनोट हुनकै लागि भनेर यूरोपमा तयारी गरेको छ । यूरोपका विभिन्न क्लबसँग खेलेको छ ।
टीम बलियो बन्दै गएको प्रमाण कुवेतले अभ्यास खेलमा इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लालाई नै हराइदियो । कुवेतले पाँचौं डिभिजनको क्लब मेडेनहेड युनाइटेडविरुद्ध पनि खोलिसकेको छ ।
पाँच महीना पहिले मात्रै पनि नेपालले कुवेतको घरेलु मैदानमा गएर दुई वटा मैत्रीपूर्ण खेल खेलेको छ । जसमा नेपालले एकमा पराजित भए भने एक खेल बराबरीमा रोकियो ।
अहिलेसम्म नेपाल र कुवेतवीच ६ पटक जम्काभेट भएको छ । तर, अहिलेसम्म नेपालले कुवेतलाई हराउन सकेको छैन । सन् १९८२ मा पहिलो पटक नेपाल र कुवेतबीच खेल भएको थियो । जसमा नेपाल ३–१ गोल अन्तरले पराजित भयो ।
चार वर्षपछि एसियाली खेलकुदमा ५–० ले पराजित भयो भने सन् १९९४ मा ८–० ले पराजित भयो । २००० को एसियन कपमा ५–० ले नेपाल पराजित भएको थियो ।