उपल्लो मुस्ताङमा हिमपहिरो, ९ वटा काठेपुल र खानेपानीका पाइप बगायो (अपडेट)
युवराज श्रेष्ठ, पोखरा
उपल्लो मुस्ताङमा आइतबार बिहान हिमपहिरो जाँदा सडक अवरुद्ध भएको छ । खोलामा आएको बाढीले ९ वटा काठेपुल, खानेपानीका पाइप र ५ वटा पानी घट्ट समेत बगाएको छ ।
उपल्लो मुस्ताङ घमी गाविसस्थित ढाकमार क्षेत्रमा हिमपहिरो गएको छ ।
घमी गाविसको ७ र ८ वडा साथै सुर्खानी गाविसको केही भागमा आइतबार बिहान पहिरो गएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले ढाकमार क्षेत्रमा ९ वटा काठे पुल बगाएको जानकारी आएको बताए । उनका अनुसार अलिचुली हिमालबाट झरेको पहिरोका कारण कोराला जाने बाटोमा ढुङ्गा थुप्रिएर जोमसोम कोराला सडक अवरुद्ध बनेको छ ।
ढाकमार गाविसको खानेपानीको मुहान, खानेपानी पाइप र ५ वटा सामूदायिक पानी घट्ट, तीन वटा सिचाइका कुलामा पनि क्षति पुगेको छ ।
घमी र सुर्खाङ गाविस जोड्ने पुल पनि बाढीले बगाएको सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति कृष्णभक्त ब्रह्माचार्यले बताए ।
पहिरो गएको ठाउँ नजिकै मानव वस्ती नभएका कारण कुनै मानवीय क्षति नभएका उनले जानकारी दिए ।
यो मौसममा हिमाली क्षेत्रमा बस्ने मानिसको संख्या नै कम हुने र दिउँसोको समय भएका कारण पनि मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिए ।
अहिले कोरला क्षेत्रमा ५ सयको हाराहारीमा मात्र जनसंख्या छ । सडकमा ठूलाठूला ढुंगा र गेगरान थुपारेको हुँदा कोरला सडक सञ्चालन गर्न केही दिन लाग्न सक्ने ब्रम्हाचार्यले जानकारी दिए ।
पहिरो गएको ठाउँ जोमसोमबाट ७० किलोमिटर पूर्व पर्छ । ल्होमान्थाङ इलाका प्रहरी कार्यालयबाट करिब १५ किलोमिटर तल पर्ने ढाकमारमा प्रहरी टोली पठाइएको र विस्तृत विवरण आउन बाँकी रहेको प्रजिअ पोखरेलले जानकारी दिए ।