हलेसी जाँदै गरेको जीप सुनकोसीमा खस्दा ७ को मृत्यु
काठमाडौंबाट खोटाङको हलेसीतर्फ जाँदै गरेको जीप आज, ३ पुस दिउँसो सुनकोसी नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ ।
सिन्धुलीको रत्नावती–३, सोखुखोला नजिकबाट बा १२ च ८८९७ नं को स्कारपियो जीप खस्दा ६ जनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ३ महिलासहित ७ जना छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक फुल्पिङकट्टि–७ का ५० वर्षीय साङदोर्जे शेर्पा, ५७ वर्षीय बाले शेर्पा, ५० वर्षीया निवुटी शेर्पा, सोही गाविस वडा नम्बर ९ की ५० वर्षीया सर्कीनी शेर्पा र जीप चालक लमजुङ समिभन्ज्याङका अन्दाजी ४० वर्षका झपटबहादुर गुरुङ छन् ।
काठमाडौं गोलढुङ्गाकी ६० वर्षीया टुकुली शेर्पाको उपचारका क्रममा मृत्यु भएको छ । उनको घुर्मीमा रहेको जनसेवा अस्पतालमा मृत्यु भएको हो ।
मृतक अर्का एकजनाको सनाखत हुन नसेको प्रहरीले जनाएको छ । जीपमा सवार ९ जनामध्ये सिन्धुपाल्चोककै दार्नर्बु शेर्पा बेपत्ता छन् । घाइते एक महिलाको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ ।