समाचारमंगलबार, १७ भाद्र , २०७६

जापानले नेपालबाट नर्सिङ केयर गिभर लैजाने, पहिलो चरणमा एक हजार आवेदन लिने

रामु सापकोटा

जापान सरकारले नेपालबाट नर्सिङ केयर गिभर लैजाने निश्चित भएको छ ।

जापानको सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले निकालेको सुचना अनुसार नर्सिङ केयर गिभरमा जान चाहने कामदारको आउँदो अक्टोबर र नोभेम्बर महिनामा जाँच हुनेछ ।

जापानिज् भाषा र सिप मुल्यांकन परिक्षा २७ देखि २९ अक्टोबर, ५ देखि ७ नोभेम्बर र १२ देखि १४ नोभेम्बरमा हुनेछ ।
उक्त जाँचमा सहभागि हुन जापान सरकारले पहिलो चरणमा एक हजार मात्र आवेदन लिनेछ ।

कसरी दिने आवेदन ?
शुरुमा आवेदन दिनेलाई प्राथमिकता दिइने बताइएको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।

तर, अनलाइन आवेदन दिनुअघि काठमाडौंस्थित जापनिज् दुतावास र जापान फाउन्डेसनले तोकेको नेपालस्थित कार्यालयबाट अनिवार्य टोकन लिनुपर्ने छ ।

जापान सरकारका अनुसार टोकन लिएपछि मात्र अनलाइन आवेदन भर्न पाइनेछ । आवेदन फारम भरेकाहरुले परिक्षामा सामेल भएर पास भएका मात्र जापान जान पाउनेछन् ।

जापान सरकारले नर्सिङ केयर गिभरमा जान चाहनेका लागि कुनै शैक्षिक योग्यता नचाहिने तर ‘नर्सिङ केयर स्किल इभ्यालुयसन टेष्ट’ र ‘नर्सिङ केयर जापानिज ल्याङ्ग्वयज इभ्यालुयसन टेष्ट’ पास भए मात्र पुग्ने जनाएको छ ।

यी दुई जाँच लिने मिती तय भइसके पनि नेपालका कुन सेन्टरमार्फत हुने भन्ने तय भइसकेको छैन ।

जापानको सरकारको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार जाँच लिने सेन्टर केहि दिनमै तय हुनेछ ।

नर्सिङ केयर गिभरको परिक्षा नेपाली भाषामा नै लिने जापान सरकारको तयारी छ ।

यस्तो हुनेछ परिक्षा
स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सुचना अनुसार नर्सिङ केयर गिभरको सिप परिक्षा ६० मिनेटको हुनेछ, जसअन्तर्गत ४५ वटा प्रश्न सोधिने छ ।

कम्प्युटर–बेस्ड टेस्टिङ विधिबाट लिइने जाँचमा सोधिन ४५ प्रश्नमध्ये ४० लिखित र बाँकी ५ प्रश्नको व्यवहारिक परिक्षा हुनेछ ।
उक्त जाँच दिनका लागि एक हजार जापानिज् यन लाग्ने जनाइएको छ ।

यस्तै, ३० मिनेटको हुने जापानिज् भाषा परिक्षामा १५ वटा प्रश्नहरु सोधिने छ । भाषा परिक्षाका लागि पनि एक हजार एक हजार जापानिज् यन लाग्नेछ ।

जापान यसकारण कामदार लैजादै
नेपालबाट पहिलो चरणमा केयर गिभर लैजाने विषयमा काठमाडौंस्थित जापानिज् दुतावासले नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जानकारि गराइसकेको छ ।

श्रम मन्त्रालयका वैदेशिक रोजगार शाखा प्रमुख दिपक ढकालका अनुसार ११ चैत्र २०७५ मा जापान र नेपालका बीच भएको श्रम सम्झौता अनुसार पहिलो पटक नेपालबाट केयर गिभर लैजान लागेको हो ।

जापान सरकारको क्याबिनेट बैठकले १० पुष २०७५ मा पाँच वर्षभित्र नेपालसहितका नौ देशबाट विभिन्न १४ क्षेत्रमा करिब चार लाख कामदार (ब्लू कलर वर्कर) लैजाने नीति पारित गरेको थियो ।0.

 

उक्त निती अन्तर्गत जापान सरकारले नेपालसहितका पाँच मुलुकबाट नर्सिङ केयर गिभर लैजान लागेको हो ।

जापानको जनसांख्यिक परिवर्तनले अर्थतन्त्रमा नै असर पर्न थालेपछि त्यहाँको सरकार ३ लाख ४५ हजार विदेशी कामदार लैजाने गरी नयाँ आप्रवासन नीति जारी गर्न बाध्य बनेको हो ।

प्रतिकृया दिनुहोस