समाचारमंगलबार, १७ भाद्र , २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार हुँदै

हिमालखबर

सिंगापुरको न्याशनल युनिभर्सिटी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति सुधारोन्मुख देखिएको छ।

प्रत्यारोपण गरिएको मिर्गौला विरुद्ध बनेको एण्टिडी निष्कासन गर्न प्लाज्माफेरेसिस विधिबाट प्रधानमन्त्रीको उपचार भइरहेको छ। एण्टिबडी निष्कासन गर्न अहिलेसम्म ६ पटक प्लाज्माफेरेसिस भइसकेको छ।

एक दिन बिराएर सात पटकसम्म प्लाज्माफेरेसिस गर्ने पूर्वनिर्धारित योजना छ। अन्तिम चरणको प्लाज्माफेरेसिस भोलि (बुधबार) हुने प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाहले बताइन्।

 

मानव शरीरमा आक्रमण गरी हानि पु‍र्‍याउन सक्ने जीवाणु विरुद्ध लडेर शरीरको बचाउ गर्न उत्पादन गर्ने एक प्रकारको प्रोटिनजन्य रसायनलाई एण्टिबडी (इम्युनोग्लोबुलिन) भनिन्छ । एण्टिबडीले फरेन बडी अर्थात् शरीरलाई संभावित हानि गर्न सक्ने बाह्य तत्वलाई नष्ट गर्छ । 

तर मिर्गौला प्रत्यारोपण गराएका बिरामीको शरीरले प्रत्यारोपित मिर्गौलालाई समेत बाहिरी र शरीरलाई हानिकारक तत्वको रूपमा बुझेर यसका विरुद्ध प्रतिरक्षात्मक कोष र एण्टिबडीको विकास गर्छ, जसका कारण मिर्गौलाले काम गर्न सक्दैन। त्यसै कारण एण्टिबडीका कारण शरीरमा निम्तिन सक्ने क्षतिलाई प्लाज्माफेरेसिस विधिबाट उपचार गरेर कम गरिन्छ।

प्रधानमन्त्रीको शरीरबाट एण्टिबडी निष्कासन गरेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउने तर अवस्था कस्तो छ भनेर केही दिनमा यकिन हुने जनाइएको छ। उपचारको नतिजा अपेक्षा गरे अनुसार भएमा प्रधानमन्त्रीसहितको टोली सम्भवत: शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रधानमन्त्री ओली उपचारका लागि ५ भदौमा सिंगापुर गएका हुन्।

प्रतिकृया दिनुहोस