दुई गोल गरेपछि बेललाई रातो कार्ड
स्पेनिस ला लिगामा रियल मड्रिड र भिल्लारियलले अंक बाँडेको छ ।
दुई–दुई गोलको बराबरीमा खेल सकिएपछि अंक बाँडिएको हो । भिल्लारियलले दुई पटक लिएको अग्रतालाई मड्रिडका ग्यारेथ बेलले तोडिदिए ।
घरेलु मैदानमा भिल्लारियलले १२औं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिम समयमा बेलले गोल गर्दै बराबरी गरे ।
दोस्रो हाफको ७४औं मिनेटमा मोई गोमेजको गोलसहित भिल्लारियलले फेरि अग्रता लियो ।
तर, १२ मिनेटपछि बेलले अर्को गोल थप्दै दुई–दुईको बराबरी गरे । थपिएको अतिरिक्त समयमा भने दुई पटक पहेँलो कार्ड पाउँदै बेल मैदानबाट बाहिरिँदा मड्रिड १० खेलाडीमा सीमित बन्यो ।