संशोधन प्रस्ताव स्थगित गरी संसद सुचारु गरौंः पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन बाहेक अरु विषय भएमा संसदमा छलफल हुने बताएका छन् ।
“लोकमानको महाअभियोग, निर्वाचन विधेयक लगायतका विषय संसदमा छलफल हुन सक्छन, त्यसमा अवरोध गर्दैनौं,” पोखरेलले भने, “असंवैधानिक रुपमा आएको संविधान संशोधन विधेयक संसदमा छलफल हुन सक्दैन, त्यसलाई एमालेले रोक्छ ।”
प्रेस चौतारी कास्कीले आज पोखरामा गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधानको बर्खिलापमा आएको संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने बताए ।
सरकारले संवैधानिक व्यवस्थाको उल्लंघन गरेर संसदमा संशोधन प्रस्ताव दर्ता गराएको भन्दै उनले सरकारलाई विधेयक फिर्ता लिन अप्ठ्यारो भएमा त्यसलाई स्थगित गरेर अन्य विषयमा छलफल शुरु गर्नुपर्ने बताए ।
“सरकारको नाक जोगाउन संशोधन प्रस्ताव फिर्ता नगरी स्थागन गर्न सकिन्छ,” उनले भने, “संविधान संशोधन कसको माग हो र, प्रधानमन्त्रीले कसको माग बोकेर भरिया बन्नु भएको छ, यो एमालेले बुझेको छैन ।”
संविधान संशोधन भन्दा पनि निर्वाचनको वातावरण बनाउनु सरकारको प्राथमकिता हुनुपर्ने भन्दै उनले कसैका माग पूरा गर्नलाई राष्ट्रियता नै कमजोर पार्ने गरी आएको प्रस्तावलाई स्वीकार गर्न नसकिने बताए ।
नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले संविधानको धारा २७४ लाई संशोधन गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
भट्टराईले धारा २७४ मा संघीय सिमांकनको बारेमा स्पष्ट व्यवस्था गरेको भन्दै अहिलेको संसदले प्रदेशको सिमांकन हेरफेर गर्न नसक्ने भएकाले प्रस्ताव असंवैधानिक भएको दाबी गरे ।
युवराज श्रेष्ठ, पोखरा