स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारलाई आग्रह
आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानको माग सम्बाधन गर्न थारू कल्याणकारिणी सभाले सरकारलाई आग्रह गरेको छ।
सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै गुठीपीडितको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘नेपाल सरकारले अविलम्ब उच्चस्तरीय अधिकारसम्पन्न वार्ता टोली गठन गरी स्वर्गद्वारी गुठीपीडित मोही किसान संघर्ष समितिसँग वार्ता संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्न चाहन्छौं।’
दाङको देउखुरीबाट आएका पीडित किसान एक महीनाभन्दा बढी समयदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेका छन्। दाङमा चरणबद्ध आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएपछि उनीहरू काठमाडौं पुगेका हुन्।
माघ २० देखि धर्नामा बसिरहेका स्वर्गद्वारी गुठीपीडित किसानसँग सरकारले वार्ताको पहल नगरेको थारू कल्याणकारिणी सभाले जनाएको छ। ‘नेपाल सरकार उनीहरूको मागप्रति रत्तीभर पनि संवेदनशील रहेको छैन। उनीहरूको संघर्षलाई नजरअन्दाज गर्दै मूकदर्शक झैं बसिरहेको छ,’ सभाका अध्यक्ष चौधरीले भनेका छन्।
गुठीपीडितका माग सम्बोधनका लागि पहल गर्न अधिकारकर्मी, नागरिक अगुवा, राष्ट्रिय मानव अधिकार आयोग लगायतलाई पनि थारू कल्याणकारिणी सभाले आग्रह गरेको छ।