बन्द गरिए रोशी क्षेत्रका तीन क्रसर उद्योग
रोशी खोला क्षेत्रमा रहेका तीन वटा खानी तथा क्रसर उद्योगलाई स्थानीय सरकारले बन्द गरेको छ।
काभ्रेको पनौती नगरपालिका-१२, गोठखोला दोभानस्थित भालेश्वर रोडा ढुंगा उद्योग, पनौती-१२, कलातिभूमिडाँडास्थित दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालि र पनौती-२ को डायमन्ड स्टोन प्रालिलाई बन्द गरिएको मेयर रामशरण भण्डारीले बताए। खानी तथा भूगर्भ विभागबाट लिएको उत्खनन अनुमतिपत्रको अवधि सकिएकाले तीनै उद्योग बन्द गरिएको मेयर भण्डारीको भनाइ छ।
गत असोजमा आएको बाढीले रोशी खोला किनारका बस्ती तहसनहस बनाएको थियो। खानी तथा क्रसर उद्योगकै कारण बाढीले तहसनहस भएको पाइएको थियो।
यससँगै गत माघ २३ मा जिल्ला समन्वय समितिले अनुगमन गरेको थियो। अनुगमनका क्रममा तीनै उद्योगले खानी तथा भूगर्भ विभागबाट लिएको उत्खनन अनुमतिको अवधि सकिएको देखिएको थियो। उद्योग सञ्चालकहरूले उद्योगको मर्मतसम्भार भइरहेको जवाफ दिएका थिए।
अनुमति अवधि सकिएपछि पनि सञ्चालनमै रहेपछि फागुन २२ मा जनप्रतिनिधि, प्रहरी, कर्मचारी र स्थानीय बासिन्दा सहितको टोलीले उद्योग बन्द गराएको हो। अब नदी किनार छेउका सबै उद्योग बन्द गरिने मेयर भण्डारीको भनाइ छ। “अब नयाँ अनुमति दिंदैनौं, अहिले सञ्चालनमा रहेका उद्योगको अनुमति सकिने बित्तिकै बन्द गराउँछौं,” उनले भने।
बन्द गरिएका तीन उद्योगमध्ये भालेश्वर रोडा ढुंगा उद्योगले २०६६ जेठ ३ मा तत्कालीन जिल्ला विकास समितिमा दर्ता भएर उत्खननको अनुमति पाएको थियो। यसअघि २०७९ भदौमा १ मा गरिएको अनुगमनमा पनि कागजात भेटिएका थिएनन्।
त्यस्तै, दीपलक्ष्मी एग्रिगेट एन्ड माइनिङ प्रालि २०६४ मंसीर २ मा जिल्ला विकास समितिमा दर्ता भएको थियो। शुरूआतमा साधारण निर्माणमुखी खनिज पदार्थको उत्खननको अनुमति लिएको यो उद्योग २०७४ माघ २ मा क्रसर पनि चलाउने गरी दर्ता गरिएको थियो।
अर्को, डायमन्ड स्टोन प्रालि २०६५ पुस २८ मा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको थियो। यसअघि २०७९ सालमा जिससले गरेको अनुगमनमा पनि यो उद्योगसँग सञ्चालन अनुमति लगायत कागजात भेटिएका थिएनन्। जिससले २०७९ सालमा गरेको अनुगमनमा यी उद्योगले मापदण्ड मिचेर उत्खनन गरिरहेको पाइएको थियो।
यो पनि पढ्नुहोस् :