पोखरामा कोटिहोम आयोजक र नगर प्रहरीबीच झडप
पोखरामा कोटिहोम आयोजक पक्ष र नगर प्रहरीबीच झडप भएको छ भने केही घाइते भएका छन्।
मानव सेवा फाउन्डेशनले शुक्रबार बिहान बाराहीघाटमा भूमिपूजन कार्यक्रम राखेको थियो। कोटिहोम विराट ज्ञान महायज्ञ गर्नुअघि भूमिपूजन गर्न लागिएको फाउन्डेशन जनाएको छ।
पोखरा महानगरपालिकाले भने कोटिहोम आयोजनाका लागि अनुमति दिएको छैन। अनुमति विना कार्यक्रम गरेको भन्दै महानगरले रोक्न खोजेको थियो।
त्यही क्रममा नगर प्रहरी र कोटिहोम आयोजकबीच झडप भएको हो। झडपमा भूमिपूजनका लागि बाराहीघाट पुगेका एक दर्जनभन्दा बढी घाइते भएका छन्।
नगर प्रहरीको लाठी प्रहारबाट केही व्यक्ति घाइते भएको कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय कृष्णमूर्तिले बताएका छन्। बाराहीघाट क्षेत्रमा दुवै पक्षबीच झडप भएको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।
विवादित धर्मगुरु कृष्णमूर्तिको अगुवाइमा आउँदो वैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म पोखरामा कोटिहोम गर्ने तयारी छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले कोटिहोमका लागि शुक्रबार भूमिपूजन गर्ने साइत दिएको थियो। त्यसै अनुसार कोटिहोम आयोजक भूमिपूजन गर्न वाराहीघाट पुगेका थिए।
पर्यटकको आवागमन हुने ठाउँ भएकाले बाराहीघाटमा कोटिहोम महायज्ञ लगाउन नहुने महानगरले बताउँदै आएको छ। महानगरले कोटिहोमका लागि अनुमति नदिने जनाएको छ।
यसअघि कोटिहोमको तयारीका लागि भनेर पोखरा क्षेत्रका वरपीपलका रूख काटिएका थिए। त्यसले पनि विवाद सिर्जना भएको थियो। कोटिहोमलाई लिएर पोखरा महानगर र आयोजकबीच जुहारी चल्दै आएको छ।