सहकारी, लघुवित्त र मिटरब्याजपीडित फेरि आन्दोलनमा
सरकारले वित्तीय समस्या समाधान नगरेको भन्दै सहकारी, लघुवित्त र मिटरब्याजपीडितले आन्दोलनको घोषणा गरेका छन्।
यसअघि छुट्टाछुट्टै आन्दोलन गर्दै आएका उनीहरू सबैले संयुक्त रूपमा आन्दोलन गर्ने भएका हुन्। एक्लाएक्लै माग गर्दा सुनुवाइ नभएपछि एकजुट भएर आन्दोलनमा उत्रिनुपरेको पीडितले बताएका छन्।
सहकारी, लघुवित्त र मिटरब्याजपीडितले बिहीबार अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। पीडितहरूले सबै प्रदेशमा विरोध सभा गर्ने भएका छन्। फागुन २७ मा पोखरा, फागुन २८ मा चितवन, चैत ३ मा धरान, चैत ४ मा सिरहाको गोलबजार, चैत ५ मा वीरगन्ज, चैत ६ मा बुटवल, चैत ७ मा कोहलपुर र चैत ८ मा धनगढीमा बृहत् प्रदर्शन गर्ने वित्तीय समस्या संयुक्त राष्ट्रिय अभियान नेपालले जनाएको छ।
लामो समयदेखि संघर्षरत पीडितसँग पटक पटक गरेको सहमति सरकारले कार्यान्वयन नगरेपछि फेरि सडकमा उत्रिनुपरेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए।
विभिन्न क्षेत्रका व्यक्तिले पनि वित्तीय पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। यसअघि भएको सहमति कार्यान्वयन नभएकाले दबाब दिन आन्दोलनमा ऐक्यबद्धता जनाएको पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, डा. सुरेन्द्र भण्डारी र अधिवक्ता ध्रुव श्रेष्ठले बताएका छन्।
देशका विभिन्न शहरमा प्रदर्शनपछि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने अभियानले जनाएको छ। यस पटक उनीहरूले विभिन्न २० वटा माग अघि सारेका छन्।


