अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
पोखरामा बेलुन पड्किंदा घाइते भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार कीर्तिपुर अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्।
अर्थमन्त्री पौडेलको स्वास्थ्यमा सुधार आएकाले ‘डिस्चार्ज’ गरिएको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले जनाएका छन्। पौडेल दुई दिनअघि कीर्तिपुर अस्पताल भर्ना भएका थिए।
अस्पतालले भनेको छ, ‘जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिंदैन। यस कारण आजै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ।’
त्यस्तै, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ। आचार्यलाई भने थप केही दिन अस्पतालमा राखिने भएको छ।
अस्पतालले भनेको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ।’
मेयर आचार्यसँग पनि भेटघाट बन्द गरिएको छ। संक्रमणको जोखिम कम गर्न भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ।
पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा फागुन ३ मा बेलुन पड्किंदा पौडेल र आचार्य घाइते भएका थिए। पोखरामा उपचार हुन नसकेपछि दुवै जनालाई काठमाडौं ल्याइएको थियो।
यो पनि पढ्नुहोस् : भव्य बनाउने ध्याउन्नमा भएको चूक