रवि लामिछाने विरुद्धको मुद्दामा बहस गर्न छिमेकी जिल्लाबाट पनि आए सरकारी वकील
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा छिमेकी जिल्लाबाट आएका सरकारी वकीलले बहस गरेका छन्।
जिल्ला अदालत, चितवनमा बिहीबार बारा, पर्सा र धादिङबाट आएका सरकारी वकीलले बहस गरेका हुन्। जिल्ला सरकारी वकीलको कार्यालय, बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गरेका छन्।
जिल्ला सरकारी वकीलको कार्यालय, चितवनका न्यायाधिवक्ताले बुधबार बहस गरेका थिए। बुधबार चितवनका जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने, सहायक जिल्ला न्यायाधिवक्ताहरू बुद्धबहादुर थापा र अमृत सुवेदीले बहस गरेका थिए।
अहिले जाहेरीवाला पक्ष सहकारीपीडितका तर्फबाट बहस भइरहेको जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए। सहकारीपीडितको पक्षबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनीता अधिकारी, शम्भु बर्तौलाले बहस गर्नेछन्। पीडितका तर्फबाट बहस गर्न सात जनाले वकालतनामा दिएका छन्।
त्यस्तै, लामिछानेका तर्फबाट पनि तीन जना वरिष्ठ अधिवक्ता सहित ११ जनाले वकीलले वकालतनामा भरेका छन्। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, जगन्नाथ पौडेल र धर्मराज आचार्य तथा अधिवक्ताहरू केदारराज पन्त, दीपकराज तिमिल्सिना, नारायणदत्त कँडेल, चूडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोलेले वकालतनामा दिएका हुन्।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेकको बहस चलिरहेको छ। बुधबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको थियो। थुनछेक बहस सकिएमा आजै पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुनेछ।
लामिछाने सहित ३२ जना विरुद्ध सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा माघ २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ अपचलन भएको पाइएको छ।
त्यसमध्ये अहिले ३८ करोड नौ लाख ७९ हजार १७७ रुपैयाँ अपचलन भएको जाहेरी परेको छ। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा पनि त्यही बराबरको रकम भराउन मागदाबी गरिएको छ।
सहकारीबाट साढे तीन करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा आएको पाइएको छ। उक्त रकम हिनामिनामा लामिछाने संलग्न रहेको आरोप लागेको छ।